झापा दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउत बिहीबार होटलमा मृत अवस्थामा फेला परे । दमक ५ मा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा झुण्डिएको आवस्थामा राउत फेला परेका हुन् ।
मृत्यु हुनुअघि राउत्तले लेखेको सुसाइड नोटका आधारमा प्रहरीले एक महिलालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार प्रहरीले राति साढे ९ बजे ती महिलालाई नियन्त्रणमा लिएको हो । रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् । पक्राउ परेकी महिलाका बारेमा प्रहरीले थप जानकारी दिएको छैन् ।
९ बजे कार्यालय पुग्नुपर्ने राउत कार्यालय पुगेनन् । कार्यालयबाट घरमा सम्पर्क गर्दा घरमा पनि नरहेको जानकारी पाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले उनको फोनमा लोकेसन ट्रयाक गर्दा अन्नपूर्ण होटलमा पुगेको देखिएको हो । मंगलदीप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो ।
त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए । मृतकले आत्महत्या गर्नुअघि ‘सुसाईड नोट’ समेत लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामाले बताए । ‘आत्महत्या दुरुत्साहन गर्ने व्यक्ति तथा समूहको नजिकबाट पहिचान गरिरहेका छौ परिवारबाट जाहेरी आउनेबित्तिकै हामी पक्राउ गर्छौ’, डीएसपी लामाले भने ।
दमक ८ निवासी ३७ वर्षीय राउतकी श्रीमती र नाबालिका छोरी रहेका छन् ।