नेपालगञ्ज, बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिनुभयो ।
उहाँले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पु¥याउने उल्लेख गर्नुभयो । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने यादवले बताउनुभयो ।
बाँकेका अधिकांश ठाउँमा देखिएको गबारो सङ्क्रमण भने पछिल्लो समय नियन्त्रणमा आएको जानकारी दिँदै उहाँले बैजानाथ सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । “यो पानी आएपछि नियन्त्रणमा आउँछ, त्यसैले अहिले गबारोको गम्भीर समस्या देखिँदैन”, उहाँले भन्नुभयो, “डुडुवा गाउँपालिका कम्दीमा भने बेरुवा रोगको सङ्क्रमण देखिएको छ ।” यादवका अनुसार यसअघि नेपालगञ्ज उपमहानगर आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।
जिल्लास्थित बाली संरक्षण प्रगोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियाको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगा रोगको समस्या देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बासगढीमा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको हो ।
प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिइएको बताउनुभयो । उहाँले बाँकेको बैजनाथमा देखिएको गबारोको समस्या समाधान गर्न विषादीको सिफारिस गरेपछि त्यसको सङ्क्रमण नियन्त्रणमा आएको बताउनुभयो । “धानमा गबारोको समस्या नियमित रुपमा देखिने समस्या हो, तापक्रमको घटबढले देखिन्छ”, पौडेलले भन्नुभयो । उहाँका अनुसार पछिल्लो समय वर्षा भएकाले धान खेतीबाट किसानले लाभ लिने देखिएको छ । रासस