पथरी, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले सबै लागिपरे पथरी बहुमुखी क्याम्पसको गुणस्तर सुधार गर्न सकिने र स्थानीय सरकारको तर्फबाट सहयोग रहने बताउनुभएको छ । उहाँले भन्नुभयो–‘क्याम्पसको स्तरोन्नति गर्न तपाई हामी सबै मिलेर प्लान बनाएर क्रमैसँग अघि बढे सफलता हात पार्न सकिन्छ ।’
सो कुरा तुम्वापोले पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन (क्यूएए) प्रक्रियाको लागि विश्व विद्यालय अनुदान आयोगको प्रथम भिजिटको समापन कार्यक्रममा बताउनुभएको हो ।
विश्व विद्यालय अनुदान आयोगको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोखरेल र नबिना चौलागाइले क्याम्पसको पहिलो तयारी भिजिटमा आउनुभएको हो । क्याम्पसले क्यूएए प्रमाणितको प्रक्रिया अघि बढाएपछि अनुदान आयोगको टोलीले भदौ १७ गते देखि १९ गतेसम्म अध्ययन गरेको हो ।
टोलीले क्याम्पस सञ्चालक समितिको अध्यक्ष, क्याम्पस प्रमुखलाई एक्लाएक्लै र समूहमा, कर्मचारी, शिक्षकहरु, समाजका अगुवाहरू, विद्यार्थी, पूर्व विद्यार्थी, स्ववियु पदाधिकारी, क्याम्पस पढेर रोजगारीमा लागेका र रोजगारदाताहरुलाई, स्याट, एसएसआर, आरएमसी, डिपार्टमेन्ट प्रमुखहरुलाई, स्वास्थ्य व्यवस्थाबारे छुट्टाछुट्टै भेटघाट गरेर अध्ययन गर्नुभएको थियो ।
यस्तै सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले पथरी बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा बिक्ने जनशक्ति उत्पादन गर्न सुझाबहरुलाई समेटेर क्यूएए प्रमाणित गर्न तीन महिना भित्र पुनः रिपोर्ट बुझाउने प्रतिबद्धता गर्नुभयो ।
क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले उत्तीण प्रतिशत वृद्धि गर्ने, क्याम्पसलाई लागेको ऋण तिर्न पहल गर्ने लगायतको प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै संविधानसभा सदस्य चण्डीप्रसाद राईले क्यूएए प्रमाण–पत्र भन्दा पनि शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थीलाई काउन्सिलिङको आवश्यकता रहेको बताउनुभयो ।