“रुपैँया एक, सुविधा अनेक” : मेची बहुउद्देशीय सहकारी

“रुपैँया एक, सुविधा अनेक” : मेची बहुउद्देशीय सहकारी

पथरी, मेची बहुउद्देशीय सहकारी संस्था लिमिटेडले ‘रुपैँया एक, सुविधा अनेक’ कार्यक्रम अघि सारेको छ । बुधबार पथरीमा इकाइ सेवा कार्यालय अन्तर्गत पथरी सेवा कार्यालयको साधारणसभामा सो कुरा बताइएको हो ।

अब प्रत्येक सेयर सदस्यले दैनिक एक रुपैँया बचत गर्नुपर्ने र सहकारीले सोही रकम बराबर थप गरेर कोष खडा गरी सो कोषबाट सदस्यलाई स्वास्थ्य देखि अनकौँ सुविधा दिने कार्यक्रम प्रस्ताव गरिएको संस्थाका सचिव राजेन्द्र प्रसाद दाहालले बताउनुभयो ।

यससंगै आगामी वर्षका लागि मेचीले अन्य आकर्षक कार्यक्रमहरुको प्रस्ताव गरेको छ । बिधुतीय गाडी चार्जिङ स्टेशन, सहकारी अस्पताल सञ्चालन, मेची आवास २, कृषि मल खरिद विक्री लगायतका लागि सम्भाव्यता अध्ययन गर्ने र मेची जलका उत्पादनका लागि बजेट बिनियोजन गरेको छ । संस्थाले भदौ १२ गतेबाट एटिएम सेवा समेत सुरु गर्ने तयारी गरेको छ । सो एटिएमबाट देशभरका जनसुकै बैंकबाट पैसा निकाल्न मिल्ने सुविधा रहने दाहालले बताउनुभयो ।

पथरी सेवा कार्यालयका तर्फबाट शिव प्रसाद निरौलाले अहिलेको यथार्थ र भावी योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । मेचीको समग्र आय व्याय र लेखा परीक्षण प्रतिवेदन संस्थाका कार्याकारी अधिकृत खोम प्रसाद बगालेले प्रस्तुत गर्नुभयो ।

यस वर्ष मेचीले १५ हजार २५८ जना सेयर सदस्य पु¥याएको छ भने जम्मा शेयर रकम ३७ करोड ४९ लाख ८३ हजार ८०० पुगेको छ । २ अरब ४७ करोड १८ लाख ३५ हजार ८१२ वचत रहेको मेचीले गत आर्थिक बर्षमा ४३ करोड ९५ लाख ६६ हजार ९९४ व्याज प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । यसवर्ष मेचीको वासलात ३ अर्ब ५५ करोड १७ लाख ४९ हजार २९४ रुपैँया ९६ पैसा पुगेको छ ।

यसवर्ष पथरी सेवा कार्यालय अन्तर्गत उत्कृष्ट बचतकर्ता सेकेन्द्र प्रधान सुडी, सलिना खड्का, जय कुमार के.सी. आदित्य खापुङ, उत्कृष्ट कर्जा कारोबारमा दल बहादुर विश्वकर्मा र सुजन नेम्बाङ सम्मानित भए । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने आदर्श सीता आधारभूत विद्यालयकी कक्षा २ मा अध्ययनरत छात्रा आस्था खड्काले नगद ५ हजार र कक्षा १२ को परीक्षामा उत्कृष्ट हुने पञ्चायत नमुना मा.वि.की छात्रा कोपिला कार्कीले नगद १० हजार सहित पुरस्कृत भए ।

इलाम, झापा र मोरङमा गरी मेचीका १२ वटा सेवा कर्यालयहरु रहेका छन् । साउन २८ गतेबाट सेवा कार्यालय स्तरमा साधारणसभा भइरहेका छन् । सेवा कार्यालयाम भदौ ३ गतेसम्ममा साधारणसभा सकेपछि भदौ १२ गते दमकमा माइन्युट प्रमाणीकरण सहित २९ औँ साधारणसभा समापन हुनेछ ।

यसवर्ष मेचीले ‘गणेश प्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियान्ता पुरस्का’ रष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ, ‘गणेश प्रसाद बस्नेत पत्रकारीता पुरस्कार’ सहकारी खबर र क्यापिटल नेपालकी संवाददाता बिराटनगर निवासी चिना थापा र ‘मेची सहकारी पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति झापाका संवाददाता राजु पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

हरियाली सामुदायिक वनको सभाहलमा आयोजित सभामा पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो, सहकारी सञ्जाल पथरीशनिश्चरेका संयोजक युवराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रमको अध्यक्षता पथरी सेवा कार्यालयका संयोजक रुद्र बहादुर तामाङले गर्नुभएको थियो ।

सम्बन्धित खवर