प्रावि तहको विषयगत परीक्षा १३ असारमा हुने

प्रावि तहको विषयगत परीक्षा १३ असारमा हुने

शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले १९ चैतमा १३ हजार २९७ रिक्त पदका लागि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उतीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी प्रदेशमा १६ हजार ९९६ जना मध्ये ३ हजार ४६८ जना, कर्णाली प्रदेशमा ८ हजार २२१ जना मध्ये १ हजार १९१ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८४६ मध्ये २ हजार १३२ जना उत्तीर्ण भएका छन् ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ६ जेठसम्म २५० रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

१३ असारमा विषयगत परीक्षा

आयोगले प्रावि तह तृतीय श्रेणीको विषयगत परीक्षा १३ असारमा सञ्चालन गर्ने भएको छ । आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

सम्बन्धित खवर