पथरी, मोरङको पथरी शनिश्चरे नगरले रोजगारीका लागि अघि सारेको पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत बाख्रा तथा बंगुर उपहार साटासाट कार्य अघि बढेको छ ।
आर्थिक विपन्न परिवारलाई नगरले विउ पूँजी उपलब्ध गराएपछि त्यसबाट उत्पादित बाख्रा या बंगुरको पाठी आफु जस्तै समस्यामा रहेका परिवारलाई उपहार उपलब्ध गराउने कार्यक्रम वडा नम्बर २ मा बाख्रामा सुरु भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोला र पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालको उपस्थितीमा प्रगति बाख्रापालन समूहले सुनौलो बाख्रापालन समूहका १० जना कृषकलाई बाख्राको पाठी उपहार प्रदान गरेको छ ।
नगरले २ वर्षअघिबाट प्रत्येक वडामा १० जनाको समूहमा ७० हजारका दरले बाख्रा र बंगुरपालनमा विउ पूँजी उपलब्ध गराएको थियो । जसबाट वडा नम्बर ९ मा बंगुरको उपहार साटासाट कार्यक्रम भएको छ । अन्य वडामा पनि तयारी अवस्थामा पुगेको छ ।