पथरी, मोरङको पथरी शनिश्चरेका विभिन्न पसलहरूमा ढुसी र किरा परेको मिठाइ बिक्री हुने गरेको फेला परेको छ ।
नगरपालिका कार्यालयको अनुगमन टोलीले गरेको अनुगमनमा मिठाइहरू लामो समयसम्म तयारी अवस्थामा राखेर प्रयोग गर्न नहुने अवस्थामा पाइएको हो ।
नगर उपप्रमुख देवीमाया काफ्लेको संयोजकत्वको अनुगमन् समितिले मन्दिर लाइनमा रहेको दिनेश होटल एण्ड टेन्ट हाउसमा लामो समयदेखि बनाएर राखिएको ढुसी र किरा परेको लड्डु, जेरीसहितका मिठाइ फेला परेका हुन् । खाद्य तथा गुण नियन्त्रण कार्यालयको प्रमाणपत्र समेत नभएको तथा मिठाइको उत्पादन र खानयोग्य समयको मिति उल्लेख नभएको, पटक पटक एउटै तेलमा पकाइएको तथा भान्सा फोहोर अवस्थाको रहेकाले ७ दिनभित्र सम्पूर्ण मापदण्ड पुरा नगरे पसल बन्द समेत गरिने जानकारीको पत्र टोलीले दिएको छ ।
टोलीले पूर्वाञ्चल क्याफे, गोर्खा डिपार्टमेन्ट स्टोर र न्यू गोखाली पाउरोटी उद्योगमा उत्पादित मिठाइसहितको खाद्य वस्तुको अनुगमन् गरेको थियो । त्यहाँका पसलहरुमा पनि सरकारको पछिल्लो मापदण्ड अनुसारको मूल्य सूचिलगायतका मापदण्डहरु पूरा गर्न जानकारी गराइएको अनुगमन समिति संयोजक काफ्लेले जनाउनु भयो ।

टोलीले आज गरेको अनुगमनका क्रममा पञ्चायत स्कुल छेउमा रहेको काशी होटलबाट म्याद गुज्रिएको पेप्सी कम्पनीको मिरीन्डा र कोकाकोलाको जिग्री भेटिए पछि डिस्पोज गरेको छ । यस्तै वडा नं. ८ मा रहेको एकवटा मिठाइ पसलमा पनि ढुसी परेर गनाएको मिठाइ फेला परेपछि डिस्पोज गरिएको छ ।

यसअघि दसैंको समयमा गरिएको मासु पसलको अनुगमनमा मूल्य अनियमिता फेला परेको थियो । दसैं तिहारलगायतका चाडपर्वको मौका छोपेर उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष तथा गम्भिर असर पर्नेगरिको गतिविधि बढ्न नदिन तथा सरकारको पछिल्लो मापदण्डका बारेमा जानकारी गराउन अनुगमन् अघि बढाइएको बजार नीरिक्षण अधिकृत स्वास्थ्य शाखाका कर्मचारी एकराज खत्रीले उल्लेख गर्नुभयो ।







