अब उर्लाबारी क्याम्पसमै पत्रकारिताको पढाइ हुने

अब उर्लाबारी क्याम्पसमै पत्रकारिताको पढाइ हुने

पथरी, पूर्वोत्तर मोरङको पुरानो र अग्रणी उच्च शिक्षा प्रदायक संस्था उर्लाबारी बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्र २०७८ बाट ४ बर्से स्नातक तह (बि.ए.) मा पत्रकारिता र सामाजिक कार्य विषय थप गरी पठनपाठन सुरु हुने भएको छ । व्यावहारिक एवम् व्यावसायिक विषय पठनपाठन गराउने सन्दर्भमा क्याम्पसले यस वर्षदेखि मानविकी सङ्कायमा उक्त दुईओटा विषयहरू थप गरेको हो । यसका लागि क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा नयाँ विद्यार्थी भर्ना प्रक्रियासमेत अगाडि बढाएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले भर्खरै पत्रकारिता विषय पठनपाठनका लागि पहल होस् भनी क्याम्पसमा बुझाएको ज्ञापनपत्र, क्रियाशील एवम् स्थापित पत्रकारहरूले समेत थप पेसागत क्षमता विकासका लागि राखेको चाहना तथा नवआगन्तुक पत्रकारसहित व्यावहारिक एवम् व्यावसायिक विषय पढ्न चाहने सम्पूर्ण विद्यार्थीवर्गको माग पूरा गर्ने प्रयत्नस्वरूप क्याम्पसमा पत्रकारिता विषय पठनपाठन गर्ने जमर्को गरिएको क्याम्पस प्रमुख बेधराज भट्टराईले जानकारी दिनुभयो । क्याम्पस प्रमुख भट्टराईका अनुसार पछिल्लो समय पत्रकारितासँगै सामाजिक कार्य (सोसियल वर्क)ं विषयको समेत उच्च माग भएकाले क्याम्पसले एकैपटक दुवै विषयहरू थप गरी पठनपाठन सुरु गरेको हो । मूलत: पूर्वोत्तर मोरङसहित पूर्वी पहाडी जिल्लाका सञ्चारकर्मीको पत्रकारिता विषय पढ्ने चाहनालाई यस क्याम्पसले पूरा गर्ने उद्देश्य राखेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । सामाजिक सेवाका क्षेत्रमा प्रवेश गर्नेहरूका लागि सामाजिक कार्य विषयले थप ज्ञान र आधारशिला दिलाउने कुरा क्याम्पस सञ्चालक समिति अध्यक्ष पुष्पलाल ढकालले बताउनुभयो ।
मोरङमा विराटनगरबाहिर पहिलो पटक उर्लाबारी बहुमुखी क्याम्पसमा पढाइ हुन लागेको पत्रकारिता विषयको चारबर्से पाठ्यक्रममा त्रिविले निर्धारण गरेअनुसार पहिलो वर्ष मास मिडिया र सञ्चारको परिचय र पत्रकारिताको सिद्धान्त र अभ्यास विषय, दोस्रो वर्ष मिडियाको नीतिशास्त्र, कानुन र इतिहास र मिडिया अनुसन्धानका आधारहरू, तेस्रो वर्ष जनसम्पर्क र विज्ञापनको परिचय र आमसञ्चार र पत्रकारिता तथा चौथो वर्ष ऐच्छिकपत्रसहित प्रसारण पत्रकारिता, नयाँ माध्यम र अनलाइन पत्रकारिता र फोटो पत्रकारिता विषय पठनपाठन हुनेछ । यसै गरी सामाजिक कार्यतर्फ पनि त्रिविद्वारा निर्धारित पहिलो वर्ष सामाजिक कार्यको परिचय र सामाजिक कार्यका लागि आधारभूत समाजशास्त्र विषय पढाइ हुनेछ । बि.ए.का प्रत्येक विषयमा त्रिविले तोकेअनुसार पूर्णाङ्कको ३० प्रतिशत अङ्क प्रयोगात्मक र अन्य ७० प्रतिशतको सैद्धान्तिक परीक्षा हुने सहायक क्याम्पस प्रमुख खेमराज कार्कीले जानकारी दिनुभयो । सहायक क्याम्पस प्रमुख कार्कीका अनुसार पत्रकारिता विषयको प्रयोगात्मक कार्यका लागि स्थानीय सञ्चारमाध्यमसहित राष्ट्रिय स्तरका सञ्चारमाध्यममा इन्टर्नसिपको व्यवस्था मिलाइने छ भने क्याम्पसकै स्वामित्वमा प्रयोगात्मक सामग्री निर्माण एवम् खरिदका लागि पनि तत्काल पहल गरिनेछ । सामाजिक कार्य विषयको प्रयोगात्मक कार्य ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा अलगअलग रूप र प्रणालीबाट गरिने बताइन्छ । क्याम्पसका सहायक प्राध्यापक केशव निरौलाका अनुसार पत्रकारिता विषयमा स्नातक गरेको व्यक्ति सरकारी तथा निजी सञ्चार माध्यममा संवाददातादेखि लिएर प्रधान सम्पादकसम्म हुन योग्य हुन्छन् भने विदेशी सञ्चार माध्यम/संस्थाका प्रतिनिधि, मिडियाका कानुनी सल्लाहकार, स्थानीय तहमा सूचना संयोजक, विज्ञापन एजेन्सीसहित प्रकाशन गृहमा सम्पादक र सोही विषयको प्रशिक्षकसमेत बन्न योग्य हुनेछन् । यस्तै स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन गर्दा सामाजिक परिचालक, परामर्शदाता, प्रशिक्षक, सरकारी तथा गैरसरकारी संस्थाको प्रजेक्ट अफिसर आदि क्षेत्रमा योग्य हुने सहायक प्राध्यापक निरौलाको भनाइ छ । त्रिविको कार्यतालिका अनुसार फागुन १ गतेबाट बि.ए.को औपचारिक कक्षा सुरु हुने भए तापनि क्याम्पसले अनलाइन मुडल प्रणालीमार्फत माघ १४ गतेबाट नै अभिमुखीकरणसहित कक्षा सुरु गर्ने भएको छ ।
थप भएका विषयसँगै अब क्याम्पसमा बि.ए.तर्फ ऐेच्छिक समूहमा पत्रकारिता, सामाजिक कार्य, नेपाली, अङ्ग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास, राजनीतिशास्त्र र इतिहास विषयहरूमध्येबाट कुनै दुई विषय छनोट गरी पढ्न पाइने भएको छ । २०४३ सालमा स्थापित यस क्याम्पसमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहसम्ममा १ हजार ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने ४० प्राध्यापक र १२ कर्मचारी कार्यरत छन् । विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्तिको प्रक्रियामा रहेको यस क्याम्पसले बर्सेनि व्यावहारिक एवम् जीवनोपयोगी शिक्षा थप गर्दै जाने प्रयत्न गरेको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयो ।

सम्बन्धित खवर