पथरीशनिश्चरे किसानको गणना गर्दै

पथरीशनिश्चरे किसानको गणना गर्दै

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा किसानहरुको सूचिकरणका लागि अन्तरक्रिया तथा तालिम थालिएको छ ।

कृषितर्फको सशर्त अनुदान कार्यक्रम अन्तर्गत नगरपालिका कृषि शाखाले आयोजना गरेको कार्यक्रममा २ नम्बर वडाका किसान गणना गणकहरुका लागि २ दिने अन्तरक्रियात्मक तालिमको आयोजना भएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन गर्दै नगरमा किसानहरुको यथार्थ विवरण आउने कुराले किसानहरुका लागि कार्यक्रम तय गर्न अझ सहज हुने बताउनु भयो ।

हाल रहेका ३ जना गणकका लागि केन्द्रीत तालिममा किसानको यथार्थ विवरण सफ्टवेयरमा दर्ता गर्ने र वडाबाट प्रमाणित गरी किसानलाई परिचयपत्र प्रदान गर्ने कार्यका बारेमा जानकारी गराइने कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो । उहाँले चालु आर्थिक वर्षमा २ हजार ५ सय घरधुरीका किसानको सूचिकरण गरिने वताउनु भयो । चालु आर्थिक वर्षमा वडा नम्बर २ पछि ३ नम्बर वडाका केहिको सूचिकरण गरिने छ ।

तालिमपछि गणकले किसानको यथार्थ विवरणका साथै कृषिको अवस्थाको तथ्यांक समेत संकलन गर्नेछन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थ विज्ञ सार्थक घिमिरेले तालिमको सहजिकरण गर्नुभएको छ ।

सम्बन्धित खवर