मतदाता नामावली दर्ताका लागि थप समय माग

मतदाता नामावली दर्ताका लागि थप समय माग

पथरी, मोरङको पथरी शनिश्चरे नगरका राजनीतिक दलहरु समेत सम्मिलित स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको आजको बैठकले फोटो सहितको मतदाता नामावली दर्ताका लागि थप समय माग गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले निर्वाचन आयोगले तोकेको १५ दिनको समयमा नयाँ मतदाताहरुको नामावली दर्ता सम्पन्न हुन नसकेपछि पुन कम्तिमा १० दिन समय थप गर्न माग गरेको हो । गत मंसिर १७ गतेदेखि प्रतिदिन एउटा वडाका दरले नामावली दर्ता गर्दा २६ गतेसम्ममा ८ सय ६६ जनाको दर्ता भएको र १ हजार २ सय ३ जनाको नाम टिपोट दर्ता हुन बाँकी रहेकाले अवको ४ दिन अर्थात पुस २ गतेसम्म बाँकी नामावली दर्ता हुन नसक्ने भएपछि समय माग गरिएको छ । बाँकी समयका लागि थप एक जना कर्मचारीको व्यवस्थापन गर्न समेत माग गर्ने निर्णय भएको छ । सो अवधिको कर्मचारीको खर्च नगरपालिकाले व्यवस्थापन गर्ने उल्लेख छ ।

नाम टिपोट गरेकाहरुको दर्ताका लागि मंसिर २८ गते वडा नम्बर १ र ५, २९ गते वडा नम्बर ३ र ७, पुस १ गते वडा नम्बर ९ र १० तथा २ गते वडा नम्बर २, ४, ६ र ८ को समय बैठकले निर्धारण गरेको छ । ती दिनमा विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म नगरपालिका कार्यालयमा नामावली दर्ता गर्ने समय तोकिएको छ ।

प्रदेश निर्वाचन कार्यालयको पत्रानुसार १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिका साथै सो उमेर भन्दा माथिका वडा वडाको नामावली संकलन कार्यमा छुट भएकाहरुका लागि पुस २ गतेसम्म दर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो । मतदाता नामावलीको ठाउँसारी सहितको अद्यावधिक गर्नका लागि भनें जिल्ला निर्वाचन कार्यालयमै सम्पर्क गर्नुपर्ने प्रावधान राखेको छ ।

सम्बन्धित खवर