जिओ कृषि एप सम्बन्धी प्रशिक्षण

जिओ कृषि एप सम्बन्धी प्रशिक्षण

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा पालिकामै पहिलो पटक सञ्चालन भएको जिओ कृषि एपलाई सवै कृषकसम्म विस्तार गर्न एप सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरिएको छ ।

लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा सम्पन्न तालिमको समापनका अवसरमा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि क्षेत्रको प्रवद्र्धनमा प्राविधिक हिसावले नेपालकै नविन काम गर्दै कृषकलाई उत्साहित बनाउने काम भएको बताउनु भयो । सो अवसरमा लुथरनले जिओ कृषिको कार्यालयमा इ चौतारी निर्माणका लागि एउटा एलइडी टीभी प्रदान गरेको छ । प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्नुभएको थियो ।

कार्यक्रममा, जिओकृषिका सहकर्ता हेमचन्द्र दहाल, लुथरनका तर्फबाट जिओ कृषिका फोकल पर्सन उमेश दनुवारले तालिमको सहजिकरण गर्नुभयो । लुथरनका कार्यक्रम सुपरिवेक्षक गोपाल सोरेन, तालिम प्रशिक्षार्थी टंकप्रसाद फुयाँल र मीना तामाङले कार्यक्रमको प्रभावकारिताका बारेमा मन्तव्य व्यक्त गर्नुभयो । तालिममा १० वडाकै कृषि सञ्जालका २,२ जना र कृषक समूहका गरी २८ जनाको सहभागिता रहेको थियो ।

पहिलो वर्ष ५ सय कृषकलाई एपमा जोड्ने र कृषि बाली फसलको जानकारी, रोग तथा उपचारको विधिका बारेमा एपबाटै सूचित गराउने योजना अनुरुप हालसम्म ५ सय १० जना जोडिइसकेका छन् । हेफर इन्टरनेशनलले पनि यहीखाले कार्यक्रम नगरमा सञ्चालनको तयारी गरको छ ।

यस्तै, नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा गौरी इन्टरनेशनल टेक्निकल एकडेमी काठमाडौंले मोरङको पथरी शनिश्चरेमा ३ महिने सिलाई कटाई तालिमको आयोजना गरेको छ ।

वडा नम्बर २ मा आयोजित महिला लक्षित सिपमुलक कार्यक्रम अन्तर्गतको तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै महिलाहरु आत्मनिर्भर बन्ने कुरामा सरकारी तबरबाट लगातार कार्यक्रम सञ्चालन भइरहनु महिलाहरुका लागि घर घरमै आएको अवसर भएको बताउनु भयो । कार्यक्रममा नगरको घरेलु उद्योग शाखा प्रमुख हेमचन्द्र दहाल सहितको सहभागिता रहेको थियो । तालिममा २० जनाको सहभागिता रहेको छ ।

सम्बन्धित खवर