‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण

‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण

बाह्रजना विद्यार्थीसहित १८ जनाको टोलीले सोलुखुम्बुमा पर्ने ‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण गरेका छन् । नेपाल माउन्टेन एकेडेमी प्रथम व्याजका १८ विद्यार्थीले उक्त हिमालको अध्ययन आरोहण गरेका हुन् ।

अध्ययन आरोहणका व्यवस्थापक रिफ्युज मेरा लजका सञ्चालक जाङ्बु शेर्पाका अनुसार असोज १ गते काठमाडाँैबाट उक्त टोली सडकमार्ग हुँदै मेरा पिकतर्फ हिँडेको थियो । एकेडेमीका १५ विद्यार्थीसहित २१ जनाको टोली अध्ययन आरोहणमा निस्किएको भए पनि तीन जना भने चुचुरोमुनिबाट फिर्ता भएको शेर्पाले बताउनुभयो ।

पाँच हजार ८०० मिटर उचाइको हाइक्याम्पबाट शुक्रबार बिहान ३ बजे आरोहण सुरु गरेको अध्ययन आरोहण टोली ९ः४८ मा चुचुरोमा पुगेको थियो । अठार जना चुचुरो पुग्नेमा १२ विद्यार्थी र छ शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रका व्यक्ति रहेको शेर्पाले जानकारी दिनुभयो ।

उहाँले दिनुभएको जानकारीअनुसार १२ विद्यार्थीमा सौरव नेपाल, अनिश दाहाल, सञ्जय भट्ट, प्रान्जल पोखरेल, अनुप्रस्त पौडेल, पासाङ नुरु शेर्पा, प्रशान्त राउत, निरेन महर्जन, डोल्मा लामा, अशोक नेपाल, सुशान्त ढुङ्गेल र पोशन शाही छन् । यस्तै एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, निर्देशक उत्तम भट्टराई, सञ्चालन समिति सदस्य तथा गाइड छिरिङ जाङ्बु शेर्पा, माउन्टेन गाइड हरेराम खड्का, लाक्पा शेर्पा र अक्याडेमिक सुपरभाइजर डा वसन्त पौडेल रहनुभएको छ ।

छ हजार ४७० मिटर उचाइको मेरा पिक मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत सोलुखुम्बुको महाकुलुङ गाँउपालिका–१ मा पर्छ । नेपालको सबैभन्दा अग्लो टे«किङ पिक मेरा पिकको आधार शिविर चार हजार ९०० मिटर उचाइमा रहेको छ । विसं २०५९ जेठ १६ मा नेपाल सरकारको निर्णयानुसार राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल माउन्टेन एकेडेमी स्थापना भएको हो । यो हिमाल आरोहणसम्बन्धी स्नातक कोर्स बिएमएस सञ्चालन गर्ने विश्वको प्रथम एकेडेमीका रूपमा परिचित छ । यहाँ विसं २०७५ कात्तिकबाट कक्षा सञ्चालन भएको थियो ।

मेरा पिक हुँदै सगरमाथा आरोहणको यात्रासमेत तय गर्न सकिने भए पनि प्रचार–प्रसार नुहँदा ओझेलमा परेको बताउँदै सञ्चालक शेर्पाले यसको प्रवद्र्धनका लागि ती विद्यार्थीलाई अध्ययन भ्रमणमा ल्याएको बताउनुभयो ।

सम्बन्धित खवर