ज्योति चौहान, उर्लाबारी
नेपालमा केही वर्ष अगाडिदेखि प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । शिक्षा क्षेत्रमा देखिएको बेथिति र भड्किलो शिक्षा प्रणालीका कारण धैरै विद्यार्थीहरु अहिले उच्च शिक्षा हासिलका लागि विभिन्न देशहरुमा भौतारिने गरेका छन् । यसरी विदेशी शिक्षा मध्यम र निम्नवर्गीय मानिसहरुको लागि समस्याको विषय बन्दै आएको छ । यसै कारणले मध्यम र कमजोर आर्थिक स्थिति भएका र छोटो समयमा अध्ययन गर्छु भन्ने चाहना भएका विधार्थीहरुका लागि अहिले प्राविधिक शिक्षा धेरैको रुचीको बिषय बन्न पुगेको छ ।
सूचना र प्रविधिको विकासप्रतिको आकर्षणले गर्दा प्राविधिक र व्यवहारिक शिक्षाप्रति विद्यार्थीहरुको पनि आकर्षण बढ्दै गएको देखिन्छ । यदि प्राविधिक शिक्षा पढ्ने शोख भित्रदेखिको नै हो र जसरी पनि यो विषयमा सफल भएरै छोड्छु भन्ने इच्छाशक्ति भएमा अवस्य सफल हुन सकिने प्राविधिक शिक्षाका शिक्षकहरुको भनाई छ । त्यो सबै इच्छाशक्ति र मेहनतमा भर पर्ने कुरा भएको उनीहरुको तर्क छ । विद्यालयका शिक्षकको शिकाई शैली त्यहाँको प्रयोगशालाका बारेमा अध्ययन गरेर मात्र बिद्यालय छनोट गर्नु राम्रो हुने मोरङको उर्लाबारी ३ स्थित दुर्गा माध्यमिक विद्यालयकी प्रधानाध्यापक शारदा कार्की (पाण्डे)ले बताएकी छन् । उनले आफ्नो आर्थिक अवस्था र वर्तमान शैक्षिक परिबेशलाई बुझेर शैक्षिक क्षेत्रमा अध्ययन गर्नुपर्ने अभिभाबकहरुलाई सुझाव दिने गरेको बताएकी छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आर्थिक अवस्था सामान्य रहेका विद्यार्थीलाई मध्य नजर गर्दै सहुलियतमा अध्ययन गर्ने वाताबरण सरकारले मिलाएकोमा उनले अत्यन्तै खुशी व्यक्त गरेकी छन् । प्राविधिक शिक्षालाई ग्रामीण तहसम्म विस्तार गर्न सरकारले अनुदान बढाएसँगै ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक शिक्षा सुरु भएकोले बिद्यार्थीहरुमा पनि उत्साह बढेको उनको भनाई छ । सरकारले विद्यालय तहबाटै सीपयुक्त जनशक्ति तयार गर्ने योजना अन्तर्गत शिक्षा विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत विद्यालय तहका लागि अनुदान दिने गरी योजना बनाएकोमा प्रधानाध्यापक कार्कीले सरकारको सकारात्मक कदम भएको बताएकी छन् ।
सीटीइभीटीले सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न सफल भएको उनको भनाई छ । जसका कारण उपकरण खरिद व्यवस्थापन र शिक्षकका लागि अनुदानसहित कार्यक्रम बनाउने काम सुरु भई कार्यान्वयन हुन थालेको उनले बताएकी छन् । सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ, आर्किटेक, सर्भे, होटल म्यानेजमेन्ट गरी ८ वटा विभिन्न विषयमा प्राविधिक र व्यावसायिक शिक्षा आफ्नो बिद्यालयमा सुरु गर्ने लक्ष लिइएको बिद्यालयका प्राविधिक शिक्षा बिभागका प्रमुख सुमन अधिकारीले बताएका छन् । सीटीईभीटीले सामुदायिक विद्यालयमा १८ महिने टीएसएलसी र ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने निणर्य गर्दै आएकोले सर्वसाधारणले प्राविधिक शिक्षा रोज्न सफल भएको उनको भनाई छ । सरकारले शिक्षा विभाग मार्फत विद्यालय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने योजना बनाएर धमाधम पूर्वाधारमा लगानी गरे पनि विद्यालयमा रहेका शिक्षक, प्रयोशाला, ओजीटी व्यवस्थापन र गुणस्तरीय पाठ्यक्रम स्तरीकरण गरिनुपर्ने उनको धारणा छ । सीटीईभीटीको तुलनाका विभाग मार्फत सञ्चालन हुने प्राविधिक शिक्षाको व्यवस्थापन पक्ष कमजोर हुन नदिन सरकारी पहल तथा अनुगमन हुनु अति आवश्यक भएको छ । त्यसैले प्राविधिक शिक्षा विस्तार र लगानी गर्दै व्यवस्थापनमा सुधार ल्याई अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको प्रमुख अधिकारीले बताएका छन् ।
आजको प्रमुख आवश्यकता भनेको व्यवहारिक, व्यावसायिक र सीपमूलक शिक्षा नै हो भन्ने बिषयमा अभिभावकहरु समेत सचेत हुन थालेको उनको बुझाई छ । विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीणर्सँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न नपर्ने प्राविधिक प्रशिक्षक अधिकारीले बताएका छन् ।
उनले अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छाअनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यही अनुसार निणर्य गर्नुपर्ने बताएका छन् । अब आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्ने, अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग जोडेर हेर्नु पर्ने उनको भनाई छ । देश विकासको मुख्य आधार शिक्षा प्रणाली नै भएकोले विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुने र रोजगारी प्राप्त हुने उनको बुझाई छ ।
यसैक्रममा दुर्गामाविले तीन बर्षे डिप्लोमामा सिभिल इन्जिनियरिङ कक्षा थपका लागि सामुदायिक प्राविधिक शिक्षालय ९ टेक्स० महाशाखा सीटीइभीटी भक्तपुरसँग माग गर्न आवश्यक डकुमेन्ट सहित विद्यालयको एक टोली त्यसतर्फ लागेको प्रधानाध्यापक कार्कीले जानकारी दिएकी छन् । उनले कक्षा सञ्चालनका लागि भौतिक पूर्वाधार भएता पनि थप संरचना अझै आवश्यक रहेको बताएकी छन् । अहिले कक्षा ११ र १२ का साथै प्राविधिक तर्फ पुराना विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन भइरहेको र नयाँ भर्ना पनि लिईरहेको प्रधानाध्यापक कार्कीले जानकारी गराएकी छन् । बिगत ४ बर्षदेखि सिभिल सब ओभरसियरकक्षा सो विद्यालयले अध्यापन गराउँदै आएको छ । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सर्बे, मेसन, प्लम्बर, कम्प्युटर लगायतका ८ बिषयमा छोटो अवधिको तालिम बर्षेनी सञ्चालन गर्दै आएको प्राविधिक शाखा प्रमुख अधिकारीले जानकारी दिएका छन् । सो विद्यालयलाई उर्लाबारी नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ मा प्राविधिक शिक्षाका लागि भवन निर्माणमा सहयोग गरेको र कम्पाउण्ड वाल निर्माणमा पनि सहयोग गरेको प्रधानाध्यापक कार्कीले बताएकी छन् । उनले प्रदेश सरकारले ४ कोठे भवनको कार्यक्रम दिएकोले जमिन मुनिको काम पुरा भइसके पनि थप बजेट नआएका कारण काम पुरा हुन नसकेको जानकारी दिएकी छन् ।
त्यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन बनिरहेको उनले बताएकी छन् । प्राविधिक शिक्षामा अगाडि बढ्दै गरेको सो विद्यालयमा सीसीटीभी, पंखा, बिजुली, खानेपानी, सोलार बत्ति, जेनेरेटर, सुरक्षा गार्ड, इन्टरनेट, सूचना तथा प्राविधिक मैत्री कोठा निर्माण लगायतको व्यवस्थापन भएको छ ।