कांग्रेसको क्रियाशील सदस्यका लागि नाम पठाइएका व्यक्ति एमालेमा प्रवेश

कांग्रेसको क्रियाशील सदस्यका लागि नाम पठाइएका व्यक्ति एमालेमा प्रवेश

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पार्टीले जारी गरेको क्रियाशील सदस्यमा विवाद भइरहेको बेला सुन्दरहरैंचाका २ जना क्रियाशील सदस्य नेपाली कांग्रेस पार्टी त्याग जारी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेश सांसद राजकुमार ओझाले पार्टीमा स्वागत गरेका थिए । सुन्दरहरैंचा–९ का चन्द्रप्रसाद ढकाल र निलबहादुर कार्की एमालेमा प्रवेश गरेका हुन् ।

लगभग १० महिनाअघि उनीहरु एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा प्रवेश गर्नेबित्तिकै क्रियाशील सदस्यताको लागि सिफारिश गरिएको भनेर कांग्रेसमा असन्तुष्ट हुनेहरु थिए । उनी कांग्रेस बनाउन आएका नभई कांग्रेसको अमूक व्यक्ति बनाउन आएका भनी टिप्पणी हुन थालेको छ ।
सुन्दरहरैंचा नगरपालिकाको वडा नं. ८, ९, ११, १२ मा पार्टीको वडा समितिले सिफारिश गरे बाहेकका व्यक्तिलाई क्रियाशील सदस्यका लागि प्रस्ताव गरिएको कांग्रेसका कार्यकर्ता बताउँछन् ।

आसन्न नगर अधिवेशनमा केही सीमित नेताहरुबाट सञ्चालित समूहबाट पार्टी संगठनमा योगदान नै नगरेका केही नेताका आडमा रहेर उम्मेद्वारी घोषणा भएको भन्दै पार्टीमा लामो समयदेखि काम गरेका कार्यकर्तामा पनि असन्तुष्टि देखिन्छ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यलाई पार्टीको मेरुदण्ड मानिन्छ । सदस्यता वितरणको लागि विधानमा धेरै राम्रो मापदण्ड तोकिएको कांग्रेसका कार्यकर्ता बताउँछन् । विधानविपरीत क्रियाशील सदस्यताको लागि सिफारिश गरिएपछि पार्टीभित्र असन्तुष्टिका स्वर सुन्न थालिएको छ ।

नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो परिमाणमा यस पटक क्रियाशील सदस्यता वितरण गरेको छ । पार्टीले सदस्यता वितरण प्रक्रियालाई संस्थागत गर्न नवीकरण, समायोजन र वडामा न्यून सदस्य संख्या भएमा केही थप गर्ने गरी शतप्रतिशत सदस्यता माग गरेको थियो । पुराना सदस्य, समायोजन तथा नवीकरणसहित थप प्रस्तावित क्रियाशील सदस्यको आवेदन केन्द्रीय समितिले अद्यावधिक गर्नुपूर्व नवीकरण छुट भएका र प्रस्तावित नाममा केही विमति भए उजुरी गर्न सकिने व्यवस्था गरेको थियो ।

धेरै सदस्य थपिएका कारण केन्द्रीय समितिले निर्माण गरेको क्रियाशील सदस्य छानविन समितिले निर्धारित समयमा काम गर्न नसक्ने गरी देशका अधिकांश जिल्ला, क्षेत्र, नगर र वडामा उजुरी परेको बताइएको छ । छानविन समितिले उजुरीमाथि छानविन गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । छानविन समितिले प्रतिवेदन बुझाउन नपाउँदै सुन्दरहरैचामा भने प्रस्तावित क्रियाशील सदस्यले पार्टी छाडेका हुन् ।

सम्बन्धित खवर