सरकारी विद्यालय हुनु त यस्तो पो !

सरकारी विद्यालय हुनु त यस्तो पो !

तानसेन, रामपुर नगरपालिका बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय विद्यार्थीको तथा अभिभावकको पहिलो रोजाइ बन्ने गरेको छ । सुविधायुक्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले सो विद्यालय सबैको आकर्षण भएको हो ।

जिल्लाकै धेरै विद्यार्थी रहेकोे सो विद्यालयलाई अहिले प्रदेशमै उत्कृष्ट नमूना विद्यालयका रुपमा विकास गरिँदैछ । दुई हजार १०० विद्यार्थी अध्ययनरत सो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको गुनासो बढिरहेका सयममा जिल्लाका सामुदायिक विद्यालयलाई थप व्यवस्थित पारिँदै छ । सो व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल विद्यालयलाई नूमना विद्यालयका रुपमा विकसित गरिने जाकारी दिनुभयो ।

नियमित लेखा परीक्षण, अध्यापनशैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा यस विद्यालयलाई विसं २०७४ मा सरकारले नमूना विद्यालयका रुपमा छनोट गरेको थियो ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपालीसँगै विज्ञान तथा बालीविज्ञान विषयमा पढाइ हुने सो विद्यालयमा अहिले करीब रु एक करोड लागतमा मन्टेश्वरी अवधारणामा प्रारम्भिक बालविकास तह तयार पारिएको छ । करीब ११३ रोपनी जग्गा रहेको सो विद्यालयमा बालबालिकालाई प्लेगु्रपदेखि युकेजीसम्म पढाइ हुनेगरी विद्यालय भवन तयार गरी भान्सा, शौचालय, बिछ्यौना, प्रशस्त खेलौना छुट्टै खालको प्रबन्ध गरिएको छ ।

अध्यक्ष पौडेलले सानैदेखि अङ्ग्रेजीमा जान्ने बुझ्ने गराउँदै विद्यार्थीमा अन्तरनीहित क्षमताको विकासका निम्ति प्रारम्भिक बालविकासमा कम शुल्कमा पढाउने व्यवस्था हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि पाल्पासँगै गुल्मी, दाङ, प्यूठान, कालीकोट, काठमाडौँ, स्याङ्जा, तनहँु र नवलपुरबाट समेत विद्यार्थी विज्ञान, बालीविज्ञानलगायतका विषय अध्ययनका निम्ति आएका छन् । सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण बदलेर उत्कृष्ट विद्यालय बनाउने प्रयत्नमा जुटेका छौँ ।”

सरकारी विद्यालयमा पनि कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्याममा पढाइ हुन थालेपछि निजी विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । करीब ३६ रोपनी जग्गामा विद्यालयका करीब १८ वटा भवन संरचना निर्माण छन् भने करीब २४ रोपनी जग्गामा कृषि फर्म सञ्चालन भएको छ । कतिपयले स्याङ्जा, तनहुँ तथा नवलपुरबाट समेत रामपुरमा कोठा भाडामा लिएर छोराछोरी विद्यालयमा पढाउन आउने गरेको उहाँको भनाइ छ ।

बिहानै विद्यालय पुग्ने विद्यालयका प्रधानाध्यापकले बेलुकासम्म नै विद्यालयमा खट्ने गरेको विद्यालयका सहयोगी कुलबहादुर दरैले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानाध्यापक बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्म खट्नुहुन्छ । समयभन्दा कसैले तलमाथि गर्न पाउँदैन । घण्टी बज्नेबित्तिकै सर कक्षामा पस्नुहुन्छ, तोकिएका समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकलाई कारवाही हुन्छ ।” अहिले कोभिड– १९ को जोखिम भएकाले इन्टरनेट अनलाइनका माध्यामबाट अध्यापन गराइएको छ ।

विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी तथा शिक्षक अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विद्यालयमा सुविधा सम्पन्न भवन, खेल मैदान, अनुशासित ढङ्गले पढाइ हुने वातावरण छ, कम्प्युटर प्रयोगशाला र प्रविधियुक्त शिक्षाको विकास भइरहेको छ ।” विद्यार्थीलाई सानैदेखि प्रशस्त खेलकूद सामग्री जुटाएर खेल्दै, सिक्दै गर्ने वातावरण सिर्जना गरेका छौँ, प्रधानाध्यापक लम्सालले भन्नुभयो ।

विद्यालयमा प्राविधिकधारतर्फको व्यवस्थापनका लागि अत्याधुनिक ल्याब सञ्चालनका निम्ति करीब रु २८ लाख बराबरको सामग्री खरीद गरिएको छ । यस वर्ष विद्यालय बस सञ्चालनमा ल्याउने र आगामी वर्ष छात्राबास सञ्चालनको योजना रहेको विद्यालयले जनाएको छ ।

सहुलियत तरिकाबाट विद्यार्थीलाई शिक्षा प्रदान गर्ने विद्यालयले आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थीलाई निःशुल्क भर्ना, किताब, विद्यालय भर्नाकोसमेत प्रबन्ध गरिने जनाएको छ । रामपुर नगरपालिका शिक्षाशाखा अधिकृत विकल काफ्लेले लुम्बिनी प्रदेशमा उत्कृष्ट विद्यालयका रुपमा छुट्टै पहिचानका साथ स्थापित हुन लागेको बताउनुुभयो ।

उहाँले ग्रामीण भेगमा पिउने पानी, शौचालय, उपर्युक्त भौतिक संरचनालगायत प्रशस्त सुविधासहित सञ्चालित विद्यालय उदाहरणीय भएकामा जोड दिनुभयो । रामपुर दर्छा खोप्टारको पाटीबाट शिक्षा दिन थालेको विद्यालयमा देशका विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित छ । ८५ जना शिक्षकले अध्यापन गराउने गर्दछन् । अहिले जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय छन् । रासस

सम्बन्धित खवर