पथरी, मोरङको पथरी शनिश्चरे नगरले हिजोबाट जेठ २९ गतेसम्म ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको ‘भेरोसिल’ खोप लगाउन सुरु गरेको छ ।
खोप कार्यक्रमका लागि पथरी नगर अस्पतालबाट वडा नम्बर १ को २६ गते, २ को २७ गते, ३ को २८ गते र ७ को २९ गते खोप लगाइने छ । शनिश्चरे स्वास्थ्य चौकीबाट २६ गते वडा नम्बर ४ को, २७ गते ८ को, २८ गते ९ को र २९ गते १० को सो उमेर समूहका लागि खोप लगाइने छ । हसन्दह स्वास्थ्य चौकीबाट २६ गते वडा नम्बर ५ को र २७ गते ६ को खोप लगाइने तालिका बनाइएको छ । हिजो र आज गरी ३ वटा स्वास्थ्य केन्द्रमार्फत ४ सय ७० जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनु भयो ।
खोप लगाउन आउनेले नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र ल्याउनु पर्ने छ । यदि ती दुवै कागजात तत्काल उपलब्ध हुने अवस्था नभएमा वडा समितिको सिफारिस अनिवार्य आवश्यक रहने निर्णय भएको छ ।
सिकिस्त विरामी परेका, ७ दिनभित्रको सुत्केरी, गर्भवती, कोरोना नेगेटिभ आएको १ महिना नभएको व्यक्ति, कोरोना संक्रमित भएको र प्लाज्मा थेरापी लिएको ३ महिना नभएको व्यक्तिले खोप लगाउन नमिल्ने स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । पहिलो मात्रा ‘कोभिसिल्ड’ खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठहरुका लागि दोस्रो मात्राको खोपको पनि प्रवन्ध हुँदै गरेको छ ।
यसैबीच, नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले आज नगर अस्पतालमा सञ्चालन भइरहेको खोपको बारेमा अनुगमन् समेत गर्दै स्वास्थ्य सतर्कता अपनाएर व्यवस्थित रुपमा खोप सञ्चालन गर्न सुझाव समेत दिनुभयो ।