पथरी शनिश्चरेको निषेधाज्ञा केही खुकुलो, बिहान १० बजेसम्म अत्यावश्यक पसल खुल्ने

पथरी शनिश्चरेको निषेधाज्ञा केही खुकुलो, बिहान १० बजेसम्म अत्यावश्यक पसल खुल्ने

पथरी, मोरङको पथरी शनिश्चरेको निषेधाज्ञा केही खुकुलो हुनेभएको छ । नगरस्तीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पुरा गरी बुधबार देखि अति आवश्यक पसलहरु विहान ६ बजेदेखि विहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले, कोरोनाको संक्रमणको अवस्था केही कम भएको भएपनि संक्रमण अझै केही समय रहिरहने अवस्था देखिएकाले तत्काललाई अत्यावश्यक बाहेकका पसल तथा व्यवसाय सञ्चालन नगर्ने निर्णय गरेको हो ।

जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको परिपत्र समेतको आधारमा निर्णय गरी जेठ २५ गते राती १२ बजेबाट अर्काे सूचना नभएसम्मका लागि नगरका शिक्षण संस्था, होटल, रेष्टुरेन्ट, लज, व्यूटि पार्लर, सैलुन, पार्टी प्यालेस, जिमखाना, स्वीमिङ पुल, हाट बजार, सब्जीमण्डी, रंगशाला, खेलकुदका गतिविधि, नीजि तथा सार्वजनिक यातायातका साधन, धार्मिक भेला, महोत्सव, सभा सम्मेलन सहित जमघट भई गरिने कार्य बन्द रहने निर्णय भएको छ ।

त्यो बाहेकका खाद्यान्न, तरकारी सहितका कृषि र पशुपालनजन्य सामग्री, आहारा, फलफुल, खानेपानी, माछामासु, इन्धन तथा ग्यास, पुस्तक पसल, सार्वजनिक निर्माणका लागि प्रयोग हुने हार्डवेयर पसलहरु विहान ६ देखि विहान १० बजेसम्म तथा दुध र दुधजन्य पदार्थ विहान ६ बजेदखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । जसका लागि सम्पूर्ण स्वास्थ्य मापदण्ड अनुरुप पसल सञ्चालकले सेवाग्राहीका लागि अनिवार्य रुपमा मास्क, साबुनपानी, सेनिटाइजर व्यवस्थापन गरी कम्तिमा डेढ मिटरको दूरी कायम गरेर सञ्चालन गर्नुपर्ने छ । सोही स्वास्थ्य मापदण्डमा रहेर औषधि पसल, बैंक तथा वित्तिय संस्था, एम्बुलेन्स तथा विरामी बोकेका अन्य गाडी, शव वाहन सञ्चालन गर्न पाइने छ ।

अत्यावश्यक कामका लागि निस्कनै परेमा मास्क, सेनिटाइजर प्रयोग गरी कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गरेर पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । तोकिएको स्वास्थ्य मापदण्ड सहित तोकिएको निषेधआज्ञाको पालना नगरे, नगराएमा कानून बमोजिम ९ हजार १ सय रुपैयाँ जरिवाना र १ महिना कैद समेतको कारबाही हुने व्यहोरा जानकारी गराइएको छ ।

नगरमा आजसम्ममा २ सय ७४ जनामा कोरोना संक्रमण भएको र १२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर