पथरी, मोरङको पथरी शनिश्चरे नगरका आर्थिक विपन्नका लागि सरकारले तय गरेको फुसको छानो हटाउने र जस्तापाता वितरण गर्ने कार्यक्रम सुरु भएको छ ।
यस क्रममा वडा नम्बर १० का २२ विपन्न परिवारले आफ्ना लागि संघीय सरकारमार्फत नगरमा आएको जस्तापाताको रकमबाट उनीहरुले वडाको समन्वयमा जस्तापाता खरिद गरेपछि वडा कार्यालयले घर घरसम्म पुर्याउने खर्च व्यवस्थापन गरिदिएको छ । वडाध्यक्ष सागर राईको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, अनोज घिमिरे, सव इन्जिनियर देवकृष्ण यादव सहितले आज जस्तापाता वितरणको अवस्थाको अनुगमन गरेका छन् ।
हाल प्रति परिवार ३० हजार बराबरको रकमबाट जस्तापाता खरिद गरिएको हो । नगरमा, संघीय सरकारको खरको छाना हटाउने अभियान अन्तर्गत नगरमा २ करोड ३५ लाखको बजेटमा ४ सय ७१ घरलाई टिनको छानो लगाउने कार्यक्रम रहेको छ ।