आगलागीबाट पाँच घर नष्ट

आगलागीबाट पाँच घर नष्ट

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर आगलागीमा परेर जलेर नष्ट भएको बोदेबरसाई निवासी उमेशकुमार साहले जानकारी दिनुभयो ।

उक्त आगलागीमा घर निर्माण गर्न रकम जम्मा पारी बन्हुका घरमा राखिएको करीब रु छ लाखसमेत जलेर खरानी भएको उहाँले बताउनुभयो । सो आगोमा १२५ सिसीको डिसकभर मोटरसाइकल र आफ्नो घरको सम्पूर्ण सामग्री जलेर खरानी भएको शोभाकान्तको भनाइ छ ।

अग्निपीडितका अनुसार आगलागीमा घरभित्र रहेको सुनचाँदीसमेत जलेको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद र घरभित्र रहेको काठ, जस्तापाता, फर्निचरका सामान तथा फ्रिज जलेर खरानी हुँदा करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ ।

आगो स्थानीयवासी तथा प्रहरी र नगरपालिकाका वारुणयन्त्रले भर्खरै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर