कोभिड अस्पताल बनाउन डोटी कांग्रेसले दियो भवन

कोभिड अस्पताल बनाउन डोटी कांग्रेसले दियो भवन

डोटी, जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेस डोटीले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको र उपचार गर्नमा असहज भएको खबरपछि कांग्रेसले उक्त निर्णय गरेको हो । सङ्क्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरिएको पार्टी जिल्ला सभापति प्रदीपकुमार देउवाले बताउनुभयो ।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालले स्रोतसाधन जुटाएर चिकित्सकसहित आफ्नो पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्ने निर्णय भएको सभापति देउवाले जानकारी दिनुभयो । पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्नका लागि यहाँको शिखर नगरपालिकाले आफ्ना तर्फबाट १० श्यया उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सीताराम जोशीले जानकारी दिनुभयो ।

यसैगरी उक्त नगरपालिकाले बाहिरी जिल्लाको शव व्यवस्थापनका लागि घाट र दाउरासमेत उपलब्ध गराउने बताइएको छ । कोरोना सङ्क्रमितको उपचारमा सहजताका लागि नगरपालिकाले जिल्ला अस्पताललाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख धौलदेवी रावलले जानकारी दिनुभयो ।

कोभिड अस्थायी अस्पतालका लागि कांग्रेसले उपलब्ध गराएको भवनमा आवश्यक सामग्रीसहित कोरोना सङ्क्रमितको उपचारका लागि तयारी गरिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । यहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण पाँच जनाको ज्यान गइसकेको छ । रासस

सम्बन्धित खवर