निषेधाज्ञा उल्लंघन : एक हजार सवारी साधन प्रहरी नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन : एक हजार सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं : बिदाको दिनमा निषेधाज्ञा अवज्ञा गरी अनावश्यक रुपमा सडकमा निस्किएका सरकारी गाडीसहित एक हजार भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।

निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार आज सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ । प्रशासनका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको हो ।

यसैबीच निषेधाज्ञा पालना भए नभएकोमा काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले उपत्यकाका विभिन्न स्थानमा निरीक्षणसमेत गरेको छ । शनिवार काठमाडौँका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौँ उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा बिहीबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा उल्लंघन गरी विनाकाम सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले सडकमै होल्ड गरेर उभ्याउने गरेका छन् । त्यस्तै सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई सडकमै होल्ड गरिएको छ ।

सम्बन्धित खवर