पथरी, मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले नगरको एकमात्र क्याम्पस पथरी बहुमुखी क्याम्पसको शैक्षिक व्यवस्थापनका लागि नगरले प्रवन्ध मिलाएर स्नातकोत्तर तहमा आवश्यक विषयहरु थप गर्न पहल गरिरहने बताउनु भएको छ ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गतको डिन कार्यालयका प्रतिनिधिहरुबाट भएको क्याम्पसको शैक्षिक अवस्थाको अवलोकनका क्रममा नगर प्रमुख राईले सो कुरा बताउनु भएको हो । उहाँले जनप्रतिनिधि, क्याम्पस संचालक समिति र स्थानीयको सहकार्यमा क्याम्पसको भौतिक अवस्था व्यवस्थित गर्न सफल भएको र अव शिक्षकहरुलाई अनुसन्धानात्मक कार्यशालाहरु गराएर अध्यापनमा समेत थप स्तरोन्नती गराउने प्रतिवद्धता जनाउनु भयो । थप शैक्षिक व्यवस्थापन मिलाउन हरतरहले आफुहरु लागि पर्ने जनाउँदै डिन कार्यालयबाट व्यवस्थापन ( एमबीएस) मा स्नातकोत्तर कक्षाको अनुमति दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, संविधानसभा सदस्य चण्डीप्रसाद राई, क्याम्पस संचालक समिति अध्यक्ष मोहनकुमार न्यौपाने र क्याम्पस प्रमुख चेतनाथ पौडेलले पनि एमबीएस पठनपाठनको सवै प्रवन्ध मिलाएर अघि बढ्न सक्ने प्रतिवद्धता जनाउनु भयो । साथै उहाँहरुले सामुदायिक क्याम्पस संचालनका लागि सरकारबाट आर्थिक व्यवस्थापनको दिगो नीति बनाएर सहयोग पुर्याउने वातावरण आवश्यक रहेको सुझाव दिनुभएको छ ।
सामुदायिकस्तरका क्याम्पसले स्नातकोत्तर तहको अध्यापनका लागि माग गरे बमोजिम क्याम्पसको अस्थायी सम्बन्धन् नवीकरण तथा सम्पूर्ण अवस्थाको अवलोकन गर्न आएको डीन कार्यालयको टोलीले पथरी बहुमुखी क्याम्पसको भौतिक व्यवस्थापनको प्रसंसा गरेको छ । टोलीले क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरुले एमफील र पीएचडी गराएर शैक्षिक गुणस्तरीयताको थप व्यवस्थापन गराउन सुझाव दिएको छ । टोलीमा, प्राध्यापक शिला प्रधानाङ्ग, सहप्राध्यापक नवराज अधिकारी, ध्रुवलाल पाण्डे सहित रहनु भएको थियो ।
वडा नम्बर १ मा ०६४ सालमा समुदायले स्थापना गरेको क्याम्पसमा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायमा अध्यापन हुँदै आएको छ । व्यवस्थापनमा स्नातकोत्तर समेत र अन्यमा स्नातक तहको पठनपाठन संचालन छ । १ विगाहा १८ कठ्ठा जग्गाको पूर्जा सहित जम्मा ७ विगाहा १० कठ्ठा जग्गाको भोगचलन रहेको क्याम्पसमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट सहयोगबाट ३ तले व्यवस्थित भवन बनेको छ । क्याम्पसमा एउटा ठूलो र २ वटा साना हल छन् । पठन पाठनका लागि २८ वटा कोठा, इन्टरनेट सहितको ३० वटा ल्यापटप र १२ वटा डेस्कटप रहेको कम्प्युटर ल्याब छ । इन्टरनेट लाइब्रेरीको तयारी अघि बढेको छ ।
साझेदारीमा पूर्णकालिन शिक्षक र कर्मचारीमा गरी २० वटा ल्यापटप प्रदान गरिएको छ । मल्टिमिडियामार्फत पठनपाठन हुने गरेको छ । त्यहाँका शिक्षकहरुमध्ये हाल व्यवस्थापनमा एक सहित ३ जनाले एमफीलको प्रक्रिया अघि बढाइसक्नु भएको छ । अन्तरराष्ट्यिस्तरको गुणस्तरीयताको प्रक्रिया अन्तर्गत विश्वविद्यालयको क्यूएए कार्यक्रमको लागि क्याम्पस स्वीकृती प्राप्त गर्ने चरणतर्फ अघि बढेको छ । क्याम्पसमा हाल ८ सय ५० बढी विद्यार्थी अध्ययनरत छन् ।