प्रदेश दैनिक फलोअपः परिवार भन्छ– वृद्धा कुटपिटको घटना वडाअध्यक्षले लुकाउन खोजे

प्रदेश दैनिक फलोअपः परिवार भन्छ– वृद्धा कुटपिटको घटना वडाअध्यक्षले लुकाउन खोजे

बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएकी रतुवामाई २ कि वृद्धा महिलाको घटना वडा अध्यक्षले नै लुकाउन खोजेको परिवारले बताएको छ । पिडित वृद्धाको स्वास्थ्य अवस्था अहिले गम्भीर रहेको परिवारले बताएको छ ।

वृद्धा महिलालाई गत शनिबार राती छिमेकी परिवारका सदस्य मिलेर सामूहिक आक्रमण गरेका थिए । आक्रमण पछि छिमेकीहरुले महिलालाई मलमुत्र समेत खुवाएको परिवारले जनाएको छ । कुटपिटको घटनाका संलग्न ५ जनामध्ये २ जनालाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान अघि बढाएको छ । संलग्न ३ जना भने अझै फरार छन् ।

मानसिक रुपमा समेत कमजोर रहेकी वृद्धा महिलामाथि टुनामुना लगाएर बिरामी बनाइदिने गरेको भन्दै छिमेकीले पटकपटक दुर्ववहार गर्ने गरेको परिवारको आरोप छ । वृद्धा महिलाको हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

परिवार भन्छ वडाअध्यक्ष अपराधीको बचाउमा लागे

वडाअध्यक्ष किरणलाल सिंह आफै घटनामा संलग्न रहेकाले उनले घटनाको यथार्थ लुकाउन खोजेको परिवारले आरोप लगाएको छ ।

घटनाको वास्तविकता थाहा हुँदाहुँदै पनि वडाअध्यक्षले अपराधीलाई कारबाहीको लागि पहल गर्नुको सट्टा बचाउमा लागेको परिवारको भनाइ छ ।

वडाअध्यक्ष र परिवारको मत भिन्नता

सोमबार प्रदेश दैनिकसँगको कुराकानीमा रतुवामाई २ का वडाअध्यक्ष किरणलाल सिंहले पीडित वृद्धा महिलालाई कसैले बोक्सीको आरोप नलगाएको बताएका थिए ।

परिवारले भने अध्यक्ष आफै अपराधमा संलग्न रहेकाले अपराधिको बचाउमा लागेर यस्तो अभिव्यक्ति दिएको बताएको छ ।

आफ्नै घरका सदस्यले पनि वृद्धा महिलालाई कुटपिट गरेको वडाअध्यक्ष सिंहले बताएका थिए ।

दोषीलाई कडा कारबाही होसः परिवार

घटनामा संलग्न रहेका दोषीलाई कडा कारबाही हुनुपर्ने परिवारको माग रहेको छ । एक्काइसौं शताब्दीमा समेत यस्तो अन्धविश्वासका पछि लागेर अपराध गर्ने जो कोहीलाई कानुनसम्मत कारबाही हुनु पर्ने परिवारले बताएको छ ।

कुटपिटपछि घाइते भएकी महिलाको सम्पूर्ण औषधि उपचारको खर्चसमेत अपराधमा संलग्नले तिर्नुपर्ने परिवारको माग रहेको छ ।

सम्बन्धित खवर