काठमाडौं : बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छिन् ।
बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
जाहेरी दर्ता भइसकेको छ । पक्राउ पुर्जी लिन टोली अदालत गएको छ, एसएसपी सिंहले भने, पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं ।
सपनाले बस्नेतविरुद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए ।
सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन् । शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए ।
उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।