विराटनगर : न्यूरो अस्पताल विराटनगरले महेन्द्रचोकमा शाखाको रुमपा सञ्चालन गर्दै आएको मदर एण्ड चाइल्ड अस्पतालको मेडिकल डाइरेक्टरमा डा. शैलजा क्षेत्रीलाई नियुक्त गरेको छ ।
विराटनगरस्थित जहदा रोडमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डाइरेक्टरमा डा. क्षेत्रीलाई नियुक्त गरिएको अस्पतालले जनाएको छ ।
धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुति सेवाको प्रोफेसरसमेत रहेकी डा.क्षेत्रीलाई अस्पताल स्थानान्तरण कार्यक्रममा यो जिम्मेवारी दिइएको हो । डा. क्षेत्री प्रदेश नम्बर १ मै स्त्री तथा प्रसुती सम्बन्धी उपचारमा ख्यातिप्राप्त चिकित्सक हुन् ।
यस्तै, विराटनगर महेन्द्रचोकस्थित रहेको मदर एण्ड चाइल्ड अस्पतालमा बिहीबार एक कार्यक्रमको आयोजना गरी अस्पतालको सेवा पूर्ववत् अवस्थामै सुचारु गरेको छ ।
अब यस अस्पतालमा, स्त्री रोग तथा प्रसुति सेवा, जनरल सर्जरी सेवा, हाड जोर्नी सम्बन्धी सेवा, नवजात शिशु तथा बाल रोग सम्बन्धी सेवा, दन्तरोग सम्बन्धी सेवा, छाला तथा सौन्दर्य सम्बन्धी सेवा सुचारु भएको छ ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टले न्यूरो हस्पिटल, कोभिड अस्पतालका साथै अबको दिनमा मदर एण्ड चाइल्ड अस्पताललाई समेत सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै उही सोही जोश र उर्जाका साथ जनसेवा गर्ने विश्वास व्यक्त गरे ।
कोभिडका कारण मदर एण्ड चाइल्डबाट न्यूरो अस्पताल सारिएको सम्पूर्ण सेवा थप विभागहरूसहित अब मदर एण्ड चाइल्ड अस्पतालबाटै नियमित रुपमा प्रदान गरिने अस्पतालका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । उनले सबैको सहयोगबाट कोरोना उपचारमा अस्पतालले सफलता पाएको समेत बताए ।
उक्त कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक अनिषा बिष्ट, अस्पतालका डाइरेक्टर रञ्जितराज बस्नेत, न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टर एवम बरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाको उपस्थिति थियो ।