प्रचण्ड जी यताबाट होइन त्यताबाट साथीहरू आउँदैछन् : टोपबहादुर रायमाझी

प्रचण्ड जी यताबाट होइन त्यताबाट साथीहरू आउँदैछन् : टोपबहादुर रायमाझी

काठमाडौं : उर्जामन्त्री एवं नेकपा नेता टोपबहादुर रायमाझीले प्रचण्ड समूहले गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको बताउनुभएको छ ।

प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले मूलधारबाट पूर्व माओवादीका दुई मन्त्री हामीतिरै आउँदै छन् भनेर प्रचण्डले कूप्रचार गरेको बताउनुभयो । मूलधारबाट जाने नभइ मूलधारतिर फर्कनेको संख्या बढेको उहाँले बताउनुभयो ।

मन्त्री रायमाझीले भन्नुभयो – ‘यतिसम्म भ्रम छर्नुभयो कि लौ ओलीले बनाएका २ जना पूर्व माओवादीतर्फका मन्त्री आउँदै छन्, बरू म भन्छु कतिपय स्थायी कमिटीका साथीहरूसँग मेरो कुरा भएको छ उहाँहर मूलधारमा आउन खोज्दै हुनुहुन्छ, हेर्दै गर्नुस् पूर्व माओवादीको गड भएका ठाउँमा पनि पहिरो जान्छ ।’

पद र प्रतिष्ठामा लागि अन्धो भएको प्रचण्ड समूहका नेताको काम भ्रम छर्ने मात्र भएको उहाँले बताउनुभयो । मन्त्री रायमाझीले भन्नुभयो – ‘उहाँले विचार सिद्न्त सबै छोड्नुभयो, पद प्रतिष्ठा बाहेक केही देख्नुभएन ।’

मन्त्री रायमाझीले प्रचण्ड समूहलाई चुनावप्रति विश्वास नरहेको बताउनुभयो । ‘ठगेर, ढाँटेर र अलिअलि ठोकठाक गरेर, ढुंगामुढा गरेर खाने बानी परेका हाम्रा साथीहरूलाई चुनावप्रति विश्वास छैन, त्यसैले उहाँहरू चुनावसँग डराउनु भएको छ ।’

देश चुनावमा होमिसकिएको भन्दै उहाँले प्रतिपक्षी कांग्रेस र मधेसवादी दल चुनावका लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘कांग्रेसका साथीहरू तयारीमा लागेका छन्, मैले एयरपोर्टमा १(२ जना कांग्रेसका साथी भेटेको थिएँ, सरकारको उहाँहरूले भन्नुभयो समर्थन गरेत ओलीको पार्टी भन्छन् नि देखाउन मात्र विरोध गरेका हौं ।’

प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ भनेर केही मिडिया र प्रचण्ड समूहले भ्रम छरेपनि पुर्नस्थापना नहुने उहाँले बताउनुभयो ।

पद-प्रतिष्ठाका लागि सडकमा गएर चिच्याएको प्रचण्ड समूहको जाने ठाउँ सकिएको उहाँले बताउनुभयो । ‘सडकमा गएर चिच्याउनु भएको छ कहीँ जाने बाटो छैन, उहाँहरू कि केपी ओलीलाई अध्यक्ष मानेर बस्न पर्‍यो, कि चोइटिएर जानुपर्‍यो, कि चुनाव बहिष्कार गर्नुपर्‍यो, कि मोहन वैद्यसँग एक हुन जानुपर्‍यो’ उहाँले भन्नुभयो ।

केपी ओलीलाई समाप्त पार्न खोज्दा प्रचण्ड(माधव सडकमा पुग्नुभएको उहाँले भन्नुभयो – ‘विपक्षको काँधमा चढेर भरूवा थोत्रो बन्दुक लिएर केपी ओलीलाई सुट गर्न खोज्नुभएको थियो, तर त्यो निशाना उहाँहरूतिरै लाग्यो, आफै पल्टिनुभयो र सडकमा पुग्नुभयो, केपी ओलीले बुद्धि र विकेकको हतियारले उनीहरूको षड्यन्त्र असफल पार्नुभयो ।’

सम्बन्धित खवर