मोरङको रतुवामाईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको नगरकमिटी पुनर्गठन भएको छ । नेकपा विभाजनको प्रभाव स्थानीय तहसम्म पर्न थालेपछि ओली समूहले बुधबार नगरकमिटी पुनर्गठन गरेको हो ।
देबी दाहालको संयोजकत्वमा बनेको उक्त कमिटीमा १ सय ६१ जना सदस्य रहेका छन् ।
नवगठित कमिटीको सह–संयोजकमा कृष्ण ढकाल र सचिवमा नेवालाल राजवंशी चयन भएका छन् । पुनर्गठित पदाधिकारी तथा सदस्यहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का प्रभावशाली नेता गुरु बरालले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको थियो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नेता बरालले करिब दुईतिहाई मत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैका केही नेताहरुले चौतर्फी घेराबन्दीमा पारेर काम गर्न अवरोध सृजना गरेपछि बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।
उहाँले विभाजित नेकपाको दाहाल–नेपाल समुहका नेताहरुले उल्टै विधि र पद्धति विपरित काम गर्दै आफ्नो पक्षमा निर्णय गर्न राज्यका संवैधानिक अंगहरुलाई बारम्बार धम्मि दिइरहेको आरोप लगाउनुभयो । नेता बरालले दाहाल–नेपाल समुहका नेताहरुको पदलोलुपताको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतले कब्जा गरेको कालापानी–लिपुलेक–लिम्पियाधुरासहितको नक्सा ओलीकै कारण जारी भएपछि दाहाल–नेपाल समुह विदेशीको चंगुलमा फसेर पार्टी विभाजन गर्ने र सरकार ढाल्ने षड्यन्त्रमा लागेको पनि नेता बरालले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र केही नेताहरु पद नपाएर चोइटिएर गएको बताउनुभयो । उहाँले पार्टीका प्रथम अध्यक्ष ओलीले मुलुकमा शान्ति, समृद्धि र स्थिरता चाहेको तर दाहाल–नेपाल समूहले विदेशीको एजेन्ट बन्दै मुलुकमा अस्थिरताको अवस्था सृजना गराउन खोजेको दावी गर्नुभयो ।
नेता पोखरेलले जनताले मुलुकमा विकास र समृद्धिका लागि ओलीलाईनै साथ दिने स्पष्ट पार्नुभयो । उहाँले दशकौँदेखि कुनै पनि सरकारले गर्न नसकेको र ओलीले नेतृत्व गरेको नेकपाको सरकारले ऐतिहाँसिक काम गरेर देखाएकाले पनि जनताले ओलीलाई साथ दिने जिकिर गर्नुभयो । उहाँले जनता साथमा नभएपछि दाहाल–नेपाल समुह अत्तालिएर सडकमा आएको पनि बताउनुभयो ।
नेता पोखरेलले नगरकमिटीका केही व्यक्तिहरु अलग समुहमा लागेपछि बाध्यात्कम परिस्थितीमा रतुवामाईमा पार्टी पुनर्गठन गर्नुपरेको स्पष्ट पार्नुभयो । कार्यक्रम रतुवामाई–६ का वडाध्यक्ष तुलाराम लुइटेलको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा मोरङका नेता नरेश श्रेष्ठ, रतुवामाई नगरपालिकाकी उपमेयर दयन्तादेवि चुडाल, रतुवामाई नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार चापागाईँ ‘गोपि’ लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको अवसरका नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताहरु ओलीले नेतृत्व गरेको नेकपामा प्रबेश पनि गरेका थिए ।