धरै कटान हुने मोरङका १५ स्थानमा तटबन्ध गरिने

धरै कटान हुने मोरङका १५ स्थानमा तटबन्ध गरिने

विराटनगर : मोरङका १५ स्थानमा तटबन्ध गरिने भएको छ। चालू आर्थिक वर्षमा बक्राहा, लोहन्द्रा, चिसाङ र डाँसबक्राहाले धेरै कटान गरेका स्थानमा तटबन्ध गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका ७ स्थानमा र अन्य तीनवटा खोलाका ८ वटा स्थानमा तटबन्ध गर्न टेण्डर आह्वान गरेर प्रक्रिया अघि बढिसकेको आयोजना प्रमुख कैलाश श्रेष्ठले बताउनुभयो। गत वर्षको बाढीले बढी असर गरेका स्थान, स्थानीयवासी र जनप्रतिनिधिको सुझाव अनुसार तटबन्ध गरिने स्थानको छनोट गरिएको श्रेष्ठले बताउनुभयो।
वर्षायाम शुरु हुनुअघि नै काम सम्पन्न गर्नेगरी काम अघि बढेको उहाँले बताउनुभयो। फागुनको दोस्रो सातादेखि तटबन्ध निर्माणको काम शुरु गर्ने आयोजनाले बताएको छ। वर्षायाम अघि नै निर्माण कार्य सम्पन्न गर्नेगरी छुट्टाछुट्टै प्याकेजमा टेण्डर आह्वान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो।

मोरङमा विशेषगरी बक्राहा, लोहन्द्रा, चिसाङ र डाँस–बक्राहाले बढी क्षति गर्दै आएका छन्। वर्षेनी लाखौँको धानबाली नष्ट हुँदै आएको छ। बाढीका कारण सयौँ घरमा क्षति पुग्ने गरेको छ। नदी नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण नहुँदासम्म नदी तथा खोलाको आसपासका रहेका बासिन्दाहरु प्रत्यक्ष पीडित बन्दै आएका छन्। बक्राहा नदी नियन्त्रणका लागि दीर्घकालीन योजना आवस्यक रहेको मिक्लाजुङका देवी निरौलाले बताए। मिक्लाजुङ ६ को न्यौपाने वस्तीमा हरेक वर्ष बक्राहा नदीले दुस्ख दिँदै आएको छ।

कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले मिक्लाजुङ ६ मा ३ सय मिटरको तटबन्ध निर्माण गर्ने भएको छ। यसका लागि ९२ लाखको टेण्डर आह्वान गरिएको आयोजनाका सूचना अधिकारी सुनिल साहले बताउनुभयो। उहाँका अनुसार बक्राहाको शीरदेखि पुछारसम्मका लागि ७ स्थानमा तटबन्ध गरिने छ। उर्लाबारी ३ र ८ मा ३५० मिटर, पथरीशनिश्चरे ५ मा १ सय मिटर, सुनवर्षी ६ मा २७५ मिटर, सुनवर्षी ७ मा ३१५ मिटर र रतुवामाईमा १८३ मिटरको तटबन्ध गरिने सूचना अधिकारी साहले बताउनुभयो। बक्राहा बाहेक लोहन्द्रा खोला बग्ने बेलबारी १ र ५, ग्रामथान ४, कटहरी २, चिसाङ बग्ने कानेपोखरी ५, कानेपोखरी ८, रंगेली ८, र डाँस–बक्राहा बग्ने पथरीशनिश्चरे ८, ९ र १० मा तटवन्ध गरिने साहले जानकारी दिनुभयो।

बस्ती बढेसँगै नदी तथा खोलाहरु साँघुरिदै गएपछि बाढी वस्तीमा पस्ने गरेको प्राविधिकहरु बताउँछन्। खोला बग्ने क्षेत्र साघुँरिदै गएको, पुरानो नक्साअनुसार तटबन्ध गर्न दबाब दिने कारणले हरेक वर्ष क्षति हुने गरेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाका इञ्जिनियर रिन्जे गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो,‘ नदीलाई फराकिलो ठाउँ चाहिन्छ, स्थानीयबासी जमिन छाड्न मान्दैनन्।’ नदीका लागि वहाव क्षेत्र नदिँदा बढी समस्या हुने गरेको उहाँको बुझाइ छ। एउटा तटबन्ध गरेको स्थानमा ४० देखि ५० हेक्टर जमिन क्षतिबाट बच्ने उहाँले बताउनुभयो।

बक्राहा नदी नियन्त्रणका लागि आगामी आर्थिक वर्षदेखि एशियाली विकास बैक (एडिबी) ले काम गर्ने भएको छ। आयोजनाले तटबन्ध नगरेका स्थानमा एडिबीले अर्को वर्षदेखि काम सुरु गर्ने बताइएको छ।

बक्राहा नदीको समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम गर्न आवस्यक रहेको उर्लाबारी १ का सोमनाथ अधिकारीले बताए। उनले भने, ‘टालटुले भन्दा पनि स्थायी रुपमा नदी नियन्त्रण हुनेगरी काम गर्नुप¥यो।’ बक्राहा नदी बहने क्षेत्रका बासिन्दाले लामो समयदेखि दुःख भोग्दै आएका छन्।

सम्बन्धित खवर