प्रदेश–१ मा कांग्रेस : प्रचण्ड–नेपाललाई सहयोग नगर्ने

प्रदेश–१ मा कांग्रेस : प्रचण्ड–नेपाललाई सहयोग नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले प्रदेश–१ मा अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने संकेत दिएको छ । कांग्रेसले प्रचण्ड–नेपाल पक्षका मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार भीम आचार्यलाई सहयोग नगर्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले प्रदेश एकमा मुख्यमन्त्री शेरधन राईलाई नै निरन्तरता दिने संकेत गर्नुभएको छ । पार्टी नेताहरुसँगको भेटमा देउवाले प्रचण्ड–माधव पक्षले राखेको अविश्वास प्रस्तावको पक्षमा ‘मतदान’ गर्न अनिच्छा देखाउनु भएको एक नेताले जानकारी दिनुभयो । आफ्नै निवास बुढानिलकण्ठमा प्रदेश नम्बर एकबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुसामु देउवाले अविश्वास प्रस्ताव पारित गरेर आचार्यलाई मुख्यमन्त्री बनाउने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो ।

देउवाले आचार्यलाई कांग्रेसप्रति अनुदार नेताको रुपमा चित्रण गर्दै सहयोग गर्न नचाहेको बताउनु भयो । ‘भीम आचार्य कांग्रेस विरोधी मान्छे हो । उसले कांग्रेसलाई धेरै दुःख दिएको छ । हामीले कसरी मुख्यमन्त्री बनाउनु ?’ देउवाको भनाइ उधृत गदै एक नेताले जनताटाइम्ससँग भन्नुभयो । अविश्वास प्रस्ताव पारित हुन प्रदेशसभाका ४७ सांसदले मत दिनुपर्छ । आचार्यको पक्षमा नेकपामा ३३ सांसद रहेको सो पक्षले दाबी गरिरहेको छ ।

सम्बन्धित खवर