स्टाफ नर्सकै भरमा कोभिड अस्पताल

स्टाफ नर्सकै भरमा कोभिड अस्पताल

सल्यान : संघीय सरकारको योजनाअनुसार स्थानीय तहहरुमा अस्पताल सञ्चालनका लागि चिकित्सकको अभाव छ। चिकित्सकको अभाव हुँदा अस्पताल स्टाफ नर्सको भरमा सञ्चालन हुँदै आइरहेका छन्।

सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल स्थापना गर्ने घोषणा गरेको छ। कतिपय स्थानीय तहले अस्पताल उद्घाटन समेत गरेका छन्। तर, डाक्टरको आवश्यकतासम्बन्धी सूचनामा कसैले आवेदन नदिएपछि अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको हो।

सल्यानको दार्मा गाउँपालिका, कालीमाटी र कुमाख गाउँपालिकाको अस्पतालबाहेक अन्य स्थानीय तहमा रहेका अस्पतालमा डाक्टर छैन। स्थानीय तहले जारी गरेका सूचनामा एमबिविएस डाक्टर, स्टाफ नर्ससहितको सेवा गर्ने उल्लेख छ। तर अस्थायी अस्पतालमा कोही पनि डाक्टर आउन इच्छुक नदेखिएको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए। असोज १२ गते दरखास्त आह्वानका लागि सूचना जारी भए पनि अहिलेसम्म कुनै पनि डाक्टरले दरखास्त नदिएको उनको भनाइ छ।

‘विभिन्न ठाउँहरुमा समन्वय गर्दा पनि आवेदन दिन कोही आएका छैनन्,’ अध्यक्ष चलाउनेले भने, ‘बेड आवश्यक सरसामानको व्यवस्था गरिसक्दा पनि डाक्टर नआएपछि अस्पतालबाट कोभिडसम्बन्धी परामर्श सेवा मात्रै प्रवाह भइरहेको छ।’

कपुरकोट गाउँपालिकाले पनि अस्थायी अस्पताल सञ्चालन गरेको छ। तर डाक्टर नहुँदा नर्सकै भरमा अस्पताल सञ्चालन हुँदै आइरहेको छ। असोज २१ मा दरखास्त आह्वान भए पनि डाक्टर पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले बताए। स्टाफ नर्स र कार्यालय सहयोगीको भरमा अस्पताल सञ्चालन भइरहेको उनले बताए।

छत्रेश्वरी गाउँपालिकाले कर्मचारी भर्नाका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ। पहिलो पटक दरखास्त आह्वान गर्दा डाक्टर, स्टाफ नर्स कुनैमा पनि आवेदन नपरेपछि मंसिर २२ गते दोस्रो पटक दरखास्त आह्वान गरेको गाउँपालिकाले जनाएको छ। बनगाड कुपिण्डे नगरपालिकामा एकजना डाक्टरको दरखास्त परेको नगरपालिकाले जनाएको छ। डाक्टर आउने सम्भावना कम भएपछि बागचौर नगरपालिकाले दरखास्त आह्वान नै गरेको छैन।

सम्बन्धित खवर