पथरी, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे १ स्थित सिवालय मन्दिरको प्राङ्गणमा भएको अधिवेशनले हिक्मत श्रेष्ठलाई नगर सभापतिमा चयन गरेको छ ।
श्रेष्ठसहित उपसभापतिमा गीता लिम्बू, सचिव तुलसी गौतम, सह–सचिव ओम प्रसाद लिम्बू, सदस्यहरू दीलबहादुर तामाङ, सुनिता खड्का, तेज बहादुर विश्वकर्मा, अमर नेपाली, कल्पना ढुङ्गाना, रमेश खत्री, लक्ष्मी श्रेष्ठ, टीका धिमाल र ओमनाथ नेपाल रहेका छन् । एकजना दलित महिला सदस्य कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल पाँचवर्षको हुनेछ ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा केन्द्रीय महामन्त्री कबिन्द्र बुर्लाकोटीको उपस्थिति रहेको थियो । राज्यले रास्वपा सभापतिलाई बिना कारण कारागारमा राखिरहेको बताए । रास्वपाको मुख्य उद्देश्य कसैसँग रिसिवी साँध्ने नभएर भ्रष्ट्राचार र बेथितिका बिरुद्धमा डटेर लाग्ने रहेकाले कसैले बिचलित नभैकन यस अभियानमा लाग्न उनले निर्देशन दिए ।
महामन्त्रीकाे सम्बोधन यहाँ छ
कार्यक्रममा सांसद सुमना श्रेष्ठको आउने कार्यतालिका रहेता पनि उनको उपस्थिति भने रहेन । सदन चल्ने भएपछि आफू आउन नपाएको भन्दै श्रेष्ठले भिडियो सन्देश पठाएर सम्बोधन गरेकी थिइन् । केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले पनि कार्यक्रममा लाइभ जोडिएर सम्बोधन गरेकी हुन् । कार्यक्रममा कोशी प्रदेश महामन्त्री लालबिक्रम थापा, कोषाध्यक्ष चन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा एकसयभन्दा बढीले अन्य पार्टी परित्याग गरी आज रास्वपामा प्रवेश गरेका थिए । पथरीशनिश्चरेका दशओटा वडा मध्ये सातओटा वडाको अधिवेशन सकिएको छ । बाँकी रहेका तीनओटा वडाको पनि तत्काल अधिवेशन सक्ने नवनिर्वाचित सभापति हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।