पथरी शनिश्चरे नगरपालिकाको १७औं नगरसभा: नागरिकमुखी कार्यक्रमहरू सहितको बजेट सार्वजनिक

पथरी शनिश्चरे नगरपालिकाको १७औं नगरसभा: नागरिकमुखी कार्यक्रमहरू सहितको बजेट सार्वजनिक

पथरी
पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नगरसभामा प्राथमिकता प्राप्त नागरिक, विपन्न, दीर्घरोगी, वृद्ध, महिला र कृषकमैत्री कार्यक्रमहरू प्रस्तुत गरिएका छन्।

नगरसभाबाट सर्वसम्मत पारित नीतिमा घरविहीन नगरवासीका लागि सुरक्षित घर निर्माण कार्यक्रमलाई निरन्तरता, १२ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, प्राविधिक शिक्षामा अनुदानसहित शैक्षिक ऋण, र फोहोर व्यवस्थापन केन्द्र तथा प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

त्यस्तै नगर अस्पतालको फार्मेसी सञ्चालनका लागि २ करोड रुपैयाँको बीउ पूँजीको व्यवस्था गरिएको छ। साथै श्रमिक हित कोष र विपन्न बालबालिका सहायता कोष स्थापना गरी सामाजिक सुरक्षा प्रणालीलाई बलियो बनाउने प्रयास गरिएको छ।

शिक्षा क्षेत्रतर्फ कक्षा ५ को परीक्षा नगरस्तरीय बनाइने, स्थानीय पाठ्यक्रम छपाई गरी निःशुल्क वितरण गरिने, भने युवालाई लक्षित गर्दै विदेशबाट फर्किएका र कृषि क्षेत्रमा उद्यम गर्न चाहनेहरूका लागि कृषि उद्यम प्रोत्साहन कार्यक्रम ल्याइएको छ।

दीर्घरोगीहरूलाई १५ हजार रुपैयाँ आर्थिक सहायता, गर्भवती महिलालाई निःशुल्क क्याल्सियम चक्की, नवजात शिशुलाई किटनाशक झुल, ७० वर्ष माथिका वृद्धहरूलाई निःशुल्क एम्बुलेन्स सेवा, र रगत आवश्यक परेमा उपचार खर्चमा नगरपालिका स्वयंले सहयोग गर्ने नीति अवलम्बन गरिएको छ।

त्यस्तै माटो परीक्षण तथा जैविक मल र विषादीको प्रयोग प्रवर्द्धन गर्ने, नगर क्याम्पस र बुद्ध माविको भवन निर्माण, हजार लिटर क्षमताको दूध चिस्याउने मेसिन खरीद, र ‘मेड इन पथरी शनिश्चरे’ ब्राण्ड प्रवर्द्धन जस्ता कार्यक्रमहरूमा बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले आ.व. २०८०/८१ को अन्तिम लेखा परीक्षण अनुसार कुल खर्चको ०.४७५ प्रतिशत मात्र बेरुजु देखिएको उल्लेख गर्दै समग्र प्रशासन पारदर्शी रहेको जनाइएको छ। स्थानीय तह स्थापना यता जम्मा ११ करोड ४९ लाख बराबरको बेरुजु कायम रहेको पनि जानकारी दिइएको छ।

संघीय सरकारबाट स्वीकृत बजेट अनुसार अझै करिब ५ करोड बराबरको रकम अपुग रहेको तथा राजस्व बाँडफाँट र आन्तरिक स्रोत दुवै तर्फबाट अपेक्षाभन्दा कम रकम प्राप्त भएको यथार्थ पनि सार्वजनिक गरिएको छ।

नगरपालिकाले यस्ता चुनौतीका बाबजुद आगामी वर्षको कार्यक्रमहरू जनतामैत्री, समावेशी र विकास उन्मुख हुने दाबी गरेको छ।

सम्बन्धित खवर