उर्लाबारी,
पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उर्लाबारीमा आयोजित एआई प्रविधि र साइबर अपराधसम्बन्धी दुईदिने सचेतना तालिम सुरु भएको छ। शनिबारसम्म आयोजन हुने तालिम सञ्चार क्लब नेपाल, उर्लाबारीले आयोजना गरेको हो भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोग रहेकाे छ ।
तालिमको उद्घाटन कोशी प्रदेशकी सांसद शोभा पालुङवाले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सांसद पालुङवाले नयाँ प्रविधिको प्रयोगसँगै बढ्दो साइबर अपराधबारे सचेत रहन पत्रकारहरूले अग्रसर भूमिका लिनुपर्ने बताउनुभयो। उहाँले डिजिटल युगमा पत्रकारितामा आएका अवसर र चुनौतीहरूबारे पनि प्रकाश पार्नुभयो।
उदघाटन कार्यक्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणी पौडेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगाल , सञ्चार क्लबका पूर्व अध्यक्ष नवराज भट्टराईले आफ्नो धारणा राख्दै प्रविधिको सही प्रयोग र सामाजिक उत्तरदायित्वबारे जोड दिनुभयो।
तालिममा प्रमुख प्रशिक्षकको रूपमा साइबर प्रहरी नायब उपरिक्षक (डीएसपी) ध्रुव कुमार श्रेष्ठले साइबर अपराध, सामाजिक सञ्जालमा हुने अपराधहरू, डेटा सुरक्षालगायत विषयमा प्रस्तुति दिनुभएको थियो। तालिममा सहभागी पत्रकारले व्यावहारिक अभ्याससहित साइबर सुरक्षाबारे जानकारी पाएका थिए।
कार्यक्रममा पत्रकार लिलाराज भट्टराईले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बारे सहजिकरण गर्नु हुने छ ।
दुईदिने तालिम कार्यक्रम सञ्चार क्लब उर्लाबारीका अध्यक्ष कुमार खड्काको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको हो।