पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक प्रकाशन भएको छ ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय बिषयहरु समेटेर कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।
सोही अधिकार बमोजिम पथरीशनिश्चरे नगरपालिकाले २०७९ सालमा स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो ।
उक्त पाठ्यक्रम अनुसार कक्षा १ देखि ५ सम्मको पुस्तक प्रकाशन भएर आएको र ६—८ सम्म प्रकाशनको अन्तिम चरणमा पुगेको पथरीशनिश्चरे नगर शिक्षा शाखा प्रमुख नवीन खुलालले बताए ।
स्थानीय पाठ्यक्रम/पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रममा नपरेका, नसमेटिएका स्थानीय ज्ञान, सिप, प्रविधि समेटेर निर्माण गर्न स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ अनुसार राष्ट्रिय पाठ्यक्रममा नपरेका स्थानीय भाषा, लिपि, धर्म, संस्कृति, कला, खेल लगायत ९ वटा बिषय समेटेर स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक प्रकाशन भएको हो ।
स्थानीय पाठ्यक्रम/पाठ्यपुस्तकको मूल उदेश्य स्थानीय ज्ञान, सिप, प्रविधिको साथै स्थानीय भाषा, धर्म, संस्कृति, लिपि, कला, भूगोल, पर्यटन, कृषि उत्पादन, स्थानीय समस्या, आर्थिक क्रियाकलाप, स्वाथ्य, वातावरण, प्रकृतिक प्रकोपबारे विद्यार्थीलाई ज्ञान दिनुसँग सम्बन्धित छ ।
पाठ्यक्रम अनुसार पुस्तक लेखनको लागि पथरीशनिश्चरे नगरपालिकाले १३ जना विज्ञ प्रतिष्पर्धाबाट छनौट गरिएको नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । पुस्तक सम्पादनमा चेतन पौडेल, ऋषिराज धिमाल, अर्जुन जम्नेली राई, रोहिणी घिमिरे, रबिन भट्टराई र डिल्लिराज दाहाल रहेका छन् । पुस्तक लेखनमा डा. सोम धिमाल, दुर्गादेवी दंगाल, केशवप्रसाद निरौला, टिकाप्रसाद घिमिरे, उपेन्द्र बस्नेत, हर्कराज जिमी, जानकी चेम्जोङ र सम्पादन टिमका छ जना गरेर १३ जना रहेको नगर शिक्षा शाखाले जनाएको छ । कक्षा १ देखि ५ सम्मको पुस्तक तुरुन्त वितरण हुने र कक्षा ६—८ को प्रकाशनको क्रममा रहेको पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले बताए ।