जोगवनीमा भेटियो बेवारिसे लास

जोगवनीमा भेटियो बेवारिसे लास

विराटनगर, भारतको जोगवनी बजार नजिकै एक नेपाली युवाको बेवारिसे लास भेटिएको छ । बिहीबार बिहान नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम रहेको अवस्थामा शव भेटिएको हो ।

अन्दाजी २५/२६ वर्षको जस्तो देखिने युवाको पहिचान खुलेको छैन् । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिका शव भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थल विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लगभग सय मिटर पर भारततर्फ पर्छ ।

सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको भनेर प्रहरीलाई जानकारी दिए पनि उनीहरुले नाम भने थाहा नभएको बताएका छन् । मृतक लागुऔषधका दुव्र्यसनी रहेको जानकारी प्रहरीलाई स्थानीयले दिएका छन् । लागुऔषध सेवनका लागि नियमित रुपमा जोगवनी आउजाउ गर्ने गरेका कारण स्थानीयले इटहरीका युवा भनेर चिनेको प्रहरीले जनाएको छ ।

प्रनि थापाले आफन्त र परिवारका कोही पनि सदस्य सम्पर्कमा आइनसकेकाले मृतकको पहिचान हुन नसकेको बताए । घटनाको प्रकृति हेर्दा हत्या हो या लागुऔषधको अत्याधिक सेवनका कारण ज्यान गयो भन्ने यकिन गर्न नसकिने उनको भनाइ छ । शव भेटिएको विषयमा अनुसन्धान सुरु गरिएको र शव पोस्टमार्टमाका लागि पठाइएको छ ।

सम्बन्धित खवर