केशव निरौला, पथरी
‘यसपालि पनि कक्षा ११ मा नयाँ विषय आएको छ अरे, हो ?’ एक नवआगन्तुक विद्यार्थीले सोधिन् ।
विद्यालयका प्रधानाध्यापकको जबाफ थियो” ‘हो यो वर्षदेखि कक्षा ११ मा ललितकलाका विषय पढाउने तयारी छ । त्यसको लागि नयाँ भर्ना आवेदन पनि खुलाएका छौँ ।’
माथिको संवाद अंश थियो मोरङको पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र नवआगन्तुक विद्यार्थीबीचको ।
यो प्रतिनिधि संवादांशबाट पुष्टि हुन्छ कि पञ्चायत माविले प्रत्येक वर्ष थप नयाँ विषयको पठनपाठन गर्दै आएको छ । यही क्रममा विद्यालयले शैक्षिक सत्र २०७७÷०७८ का लागि ललितकला (फाइन आटर््स) विषय समूहमै कक्षा ११ मा नयाँ भर्ना आवेदन फारम खुलाएको हो । ललितकला समूहअन्तर्गत विद्यालयले ऐच्छिक विषयमा मूर्तिकला, चित्रकला र कम्प्युटरको पठनपाठन गर्ने भएको छ । नयाँ पाठ्यक्रमअनुसार अब अनिवार्य नेपाली (००१), अनिवार्य अङ्ग्रेजी (००३), अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (००५), ऐच्छिक मूर्तिकला (१३३), ऐच्छिक चित्रकला (४२७) र ऐच्छिक कम्प्युटर विज्ञान (२३१) गरी ६ विषय समूहमा ललितकला पठनपाठन हुनेछ । माध्यमिक शिक्षा पाठ्यक्रम, २०७६ ले दुईओटा ऐच्छिक समूहमा मूर्तिकला विषय समावेश गरेको हुँदा त्यो परिमार्जन भएमा पुनः अर्को विषयसमेत विद्यार्थीले रोज्न पाउने विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो । पाठ्यक्रम प्रारूपमा ऐच्छिक प्रथमअन्तर्गत कोड नं. १३३ र ऐच्छिक तृतीयअन्तर्गत कोड नं. ३२७ मा समानरूपमा मूर्तिकला विषय राखिएको छ ।
प्रत्येक वर्ष नयाँ विषय
यस पञ्चायत माविले सम्भव भएसम्म प्रत्येक वर्ष नयाँ विषय थप गर्दै पठनपाठन गर्ने नीति अख्तियार गरेको छ । उसले विद्यार्थीको रुचि, चाहना, समयको माग र आवश्यकताअनुसार शिक्षकको समेत व्यवस्थापन हुने गरी नयाँनयाँ विषय पढाउँदै आएको पाइन्छ । सामुदायिक विद्यालयतर्फ विज्ञानसमूहबाट देशकै उत्कृष्ट नतिजा निकाल्न सफल हुँदै आएको यस विद्यालयले गत वर्षदेखि कक्षा ११ मा कानुन समूहका विषय पठनपाठन गर्दै आएको छ । विराटनगरबाहिर पहिलो पटक कानुन समूहका विषय पढाउने पञ्चायत मावि नै पहिलो हो । कानुन समूहमा उसले कक्षा ११ मा अनिवार्य नेपाली र अङ्ग्रेजीसँगै ऐच्छिकरूपमा ३ ओटा कानुन विषय पढाएको पाइन्छ । गत वर्षमात्रै कानुन समूहमा ७२ जनाले भर्ना गरी निरन्तर अध्ययन गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।
नयाँ विषय समूह थप्ने क्रममा विगतदेखि अहिलेसम्ममा विद्यालयले ६ ओटा विषय समूह थपिसकेको छ भने ललितकला सातौँ विषय समूहमा परेको छ । उसले विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ र कानुन समूहका विषय पढाउँदै आएको छ भने यसवर्षबाट ललितकलाका विषय सुरु गर्दै छ । स्थानीय स्तरमै विद्यार्थीले आफ्नो रुचि र चाहनाअनुरूप विषय छानेर पढ्न पाउने वातावरण मिलाउँदै गएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइतकुमारी तुम्बापोले बताउनुभयो । विद्यालयले आगामी वर्षहरूमा पनि समसामयिक र व्यावहारिक ठानिएका विषयलाई क्रमशः थप गर्दै लाने जनाएको छ । भौतिक संरचनाको पर्याप्तता र शिक्षक व्यवस्थापन गर्न सहज भए आगामी वर्ष आमसञ्चार तथा पत्रकारिता, होटल मेनेजमेन्ट वा अन्य कुनै पनि व्यावहारिक एवम् जीवनोपयोगी विषय थप्ने योजना रहेको विद्यालयका प्रअ बुढाथोकीले बताउनुभयो ।
पहिलो पटक पथरीमा ललिलकला
पञ्चायत माविमा कक्षा ११ मा अध्यापन हुने ललिलकला समूहका विषयहरू सम्भवतः प्रदेश नं. १ मै पहिलो पटक मानिन्छ । काठमाडौँ उपत्यकाका केही विद्यालयमा पढाइ हुँदै आएका मूर्तिकला, चित्रकलाजस्ता विषयलाई पूर्वमा पञ्चायत माविले नै पहिलो पटक प्रवेश गराएको शिक्षासम्बद्ध जानकारहरूको भनाइ छ । यस विषयमा विद्यालयका प्रअ बुढाथोकी भन्नुहुन्छ” ‘पथरीमा ललितकला समूहअन्तर्गतका विषय पढाइ हुने वातावरण बनेको छ । पोहोरदेखि कानुन समूहमा विषय पनि पढाइ भइरहेको छ । सम्भव भएसम्म बर्सेनि थप हुने यस्ता विषयहरूलाई क्षेत्र तोकेर पहिलो वा दोस्रो किन भनिरहनु ? ।’
नमुना विद्यालयमा छनोट भएको पञ्चायत माविले बर्सेनि नयाँ विषय थपेर शैक्षिक उन्नयन गर्दा पथरीशनिश्चरे नगरलाई नै ‘शैक्षिक हब’ बन्न प्रमुख सहयोग पुगेको नगरप्रमुख दिलिपकुमार (किशोर) राई बताउनुहुन्छ । अहिले विद्यालयले शैक्षिक विकासमात्रै होइन, भौतिक विकासतर्फ पनि ३ ओटा अत्याधुनिक भवन निर्माण कार्यलाई तीब्रताका साथ अगाडि बढाइरहेको छ । २०३६ सालमा स्थापित यस विद्यालयमा हाल २ हजार ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।