प्याजको भाउ ह्वात्तै बढ्यो, साढे सात हजार किलो प्याजसहित पसल सञ्चालक पक्राउ

प्याजको भाउ ह्वात्तै बढ्यो, साढे सात हजार किलो प्याजसहित पसल सञ्चालक पक्राउ

राजेन्द्र महतो, लहान

भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार सिरहामा साढे सात हजार किलो प्याजसहित पसलका ३ जना सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोलबजारमा रहेको जय लक्ष्मी सब्जी भण्डार पसल तथा गोदामका सञ्चालक मिर्चैया नगरपालिका ५ बस्ने ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैयास्थित रहेको जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहानस्थित गंगा ट्रेडर्सका संचालक रामनारायण नायक रहेका छन् ।

प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट खटेको टोलीले सिरहाको मिर्चैया, गोलबजार र लहानका बजारको पसल र गोदाममा छापा मारी ७ हजार ४ सय ४० किलो प्याजसहित ३ जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले ती सञ्चालकहरुलाई नियन्त्रणमा लिई गोदाम सिल समेत गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी विनोद घिमिरेले जानकारी दिए । भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा व्यापारीले प्याजको मूल्य ह्वात्तै बढाएर कालो बजारी सुरु गरेका छन्।

सम्बन्धित खवर