राजेन्द्र महतो, लहान
सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरकी ३३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी उनको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार साँझ ६ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताएका छन्।
ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना भएपछि श्वास फेर्न समस्या हुँदा आइतबार पिसिआर परीक्षण गरिएको थियो । पिसिआरको रिपोर्टमा पोजेटिभ देखिएपछि काव्या अस्पतालबाट कोभिड अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको प्रादेशिक कोभिड अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले बताएका छ्न् ।
प्रादेशिक कोभिड अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण नै निधन भएको यो पहिलो घटना भएको भन्दै डा. सिंहले अन्य निधन भएका संक्रमितहरू भने विभिन्न प्रकारका दीर्घरोगका कारण निधन भएको बताए ।
मृतकको फोक्सोमा संक्रमण फैलिएर श्वास अवरुद्ध भएपछि मृत्यु भएको डा. सिंहले बताएका छन्। मृतकको शव नेपाली सेनाको टोलीले सोमबार २ बजे कर्जन्हा ३ स्थित कमला खोलाको किनार मा ब्यबस्थापन गरेका छ्न् । योसंगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।