गुणस्तर अनुसार उत्पादन नगर्ने जगदम्बा स्टिल्स र मंगला सिमेन्ट उद्योगलाई कारबाही

गुणस्तर अनुसार उत्पादन नगर्ने जगदम्बा स्टिल्स र मंगला सिमेन्ट उद्योगलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई आज कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिनुभयो ।
विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनुपर्नेमा ०.५५ प्रतिशत पाइएको छ । जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ ।

यस्तै मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले जगदम्बा स्टील्सको बिक्रीवितरणमा रोक लगाउनाका साथै मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ । रासस

सम्बन्धित खवर