काठमाडौँ, संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिन एसिड पीडित बालिकासंग मनाएका छन् । जन्मदिनको अवसरमा भट्टराईले आइतबार एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाएका हुन् ।
२०७६ साल भाद्र २० गते घरबाट विद्यालय जाँदैगरेका अवस्थामा मुस्कानलाई २ जना युवाले एसिड प्रहार गरेका थिए । वीरगञ्जमा भएको एसिड प्रहारपछि अहिलेपनि मुस्कानको उपचार चलिरहेको छ ।
मुस्कानको आत्मविश्वासबाट आफु निकै प्रभावित भएको मन्त्री भट्टराईले बताएका छन् । कक्षा ९ मा अध्ययनरत मुस्कानको डाक्टर बन्ने इच्छा रहेको छ । मुस्कानको उच्च शिक्षाका लागि केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पूर्ण प्रवन्ध मिलाउने बचन दिएका थिए ।
मुस्कानको शिक्षाका लागि आफ्नो १ महिनाको तलबबाट लेवि र कर काटेर बचेको सम्पूर्ण रकम प्रदान गरेको भट्टराईले आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन् । जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएको बताएका छन् । आफ्नो जन्मदिनमा असाहयहरुलाई नै सहयोग गर्दै आएको भट्टराईले बताएका छन् ।