नेपाली कांग्रेसले १५ लाख नयाँ युवाहरूलाई क्रियाशिल सदस्यता बितरण गर्नुपर्छ

नेपाली कांग्रेसले १५ लाख नयाँ युवाहरूलाई क्रियाशिल सदस्यता बितरण गर्नुपर्छ

– अजित क्षेत्री

मुलुकको जेठो र लोकतान्त्रिक विचारको मुलप्रवाह नेपाली कांग्रेसको विधानअनुसार हरेक वर्ष खुल्नुपर्ने कांग्रेसको क्रियाशील सदस्यता फाराम पाँच वर्षमा बल्ल खुलेको छ । यो पाँच वर्षमा नेपालको जनसांख्यिक तथ्यांक हेर्ने हो भने हरेक वर्ष पाँच लाख भन्दा बढी युवा अठार वर्ष पुगेर मतदान गर्न सक्ने वालिग भए, जसअनुसार पच्चीस लाख युवाहरु थपिए । त्यसमध्ये कांग्रेसले पाँच बर्षमा बितरण गर्ने क्रियाशिल सदस्यतामा नयाँ १५ लाख युवाहरु थप्नुपर्छ। आफुलालाई सधैं जनताको बीचको जनताको एजेण्डाको नेतृत्वकर्ता सम्झने लोकतान्त्रिक विचारधारामा आस्था राख्ने नेपाली कांग्रेसले विश्वव्यापीकरण र सुचना प्रविधिमा अभ्यस्त नयाँ युवापुस्तालालाई के कसरी समेट्दै छ त ? बहसको गम्भिर विषय बन्न पुगेको छ ।

कांग्रेसको अपडेट नहुने वेभसाइट हेरेर वा युवा लक्षित कुनै ठोस कार्यक्रम बिना तथा देशबासीलाई सकारात्मक परिवर्तन हुने विश्वासिलो कार्ययोजना नदिदासम्म हामीलाई ज्यादै गौरव लाग्ने सात सालदेखि २०७२ साल सम्मको परिवर्तनको नेतृत्वकर्ता, राष्ट्रप्रेम, लोकतन्त्रप्रतिको प्रतिवद्धता कुनै युवालाई चासो र गौरवको विषय होइन्, बोझ ठान्न सक्छ । खाडीमा श्रम बेच्न गएका, अध्ययन र रोजगारीका निम्ति पश्चिमा देशहरुमा पुगेका, नेपालमै साना–ठुला व्यवसाय गरि बसेका वा तयारीमा रहेका, देशमै रोजगारीमा रहेका तथा बेरोजगारी गरिवीको चरम मारमा परेका गाउँ वा शहरका फरक फरक एजेण्डामा कांग्रेसको धारणा के छ ? म किन नेपाली कांग्रेसको सदस्य बनूँ ?

आजको पुस्ताले सबै सवालहरुको जवाफसहित कांग्रेसमा अपनत्व खोज्दैछन् तर कांग्रेसले समग्र देशवासीको मन भावना र विचारलाई संश्लेषित गर्नुपर्ने समयको माग हुँदाहुदै पनि कांग्रेसको नेतृत्वले क्रियाशिल सदस्यतालाई संगठन विस्तारको अभियान भन्दा पनि फगत क्षेत्रीय प्रतिनिधि छान्ने साधनको रुपमा प्रयोग गर्न खोज्नु र बुझाइनु अत्यन्त दुखद छ । क्रियाशिल सदस्यता कस्ता योग्यता पुगेकालाई दिने ? मुलुकका मतदाताहरुको भावनालाई प्रभावित गर्न सक्ने समुहहरूसँग पार्टीको सम्बन्धलाई स्थापित गर्न कस्ता एजेण्डा चाहिन्छन् ? आफुलाई मास बेस पार्टीको रुपमा मानिसकेपछि नयाँ थपिएका पच्चिसौं लाख मतदाता र पार्टीको दुरीलाई कसरी सबैभन्दा नजिक बनाउने नयाँ जोश उत्साहलाई प्रयोग गरेर पार्टीलाई सशक्त बनाउने तथा मुलुकलाई समुन्नत बनाउन हाम्रो मार्गचित्र यी हुन् भनेर कांग्रेसको केन्द्रीय समितिमा व्यापक छलफल हुनुपर्नेमा हामी कतै चुक्दै त छैनौं ?

बेलाबेलामा कांग्रेसका भातृ संस्थाहरु सुदुरबाट अनियिमता र जनजिविकाका सवालमा नबोलेका भने होइनन् तर प्रभावकारी रहेन । आम जनसवालमा मुलुकको जिम्मेवार राजनितिक दलको औपचारिकताका लागि बोलिने आवाजले कुनै अर्थ राख्दैन भन्ने ठान्दछन् अहिलेका युवा, यसो त प्रतिष्पर्धी राजनितिक दलहरुमा पनि युवाका एजेण्डा कांग्रेसमा जति पनि उठेका छैनन् । नेकपामा युवा नेताहरु फलानोले भने त धरहराबाटै हाम फालिदिन्छु, भन्ने हनुमानगिरी, चाकडी र चाप्लुसीमै व्यस्त देखिन्छन् । नेकपाका युवाहरुले निर्मला पन्त हत्या प्रकरण देख्दै देखेनन्, निरन्तर तेल, दाल, चामल, चिनी, तरकारीको मुल्य दोब्वर हुंदापनि चुइक्क बोल्दैनन् । न त सरकारले कोरोनाको बेला ओम्नी समुहसंग स्वास्थ्य सामग्री खरिद प्रक्रियाको बेलामा गरेको अरबौं घोटला वा यति होल्डीइङ्सलाई सरकारले दिएको उपहारबारे मुख खोल्छन् । भष्ट्रचार,अनियमितता लुटतन्त्रको समर्थन गरेवापत पाएको केही प्रतिशत अंशमा रमाएका छन् । सो विरुद्धमा जनता र आम नेपाली युवाहरु आक्रोशित छन् । सो आक्रोशको प्रतिविम्व हो युवाहरुले चलाएको इनफ इज इनफ अभियान । अबका युवा सहेर मात्र बस्दैनन् आफ्ना निम्ति लड्न पनि तयार छन् भन्ने स्पष्ट सन्देश नेपालको राजनीतिक क्षेत्रलाई दिएको सत्य नेपाली कांग्रेसलाई पनि बोध हुनु जरुरी छ ।

दलका भातृ संस्थाले कार्यक्रम गर्दा सय जना पुर्याउन कडा मेहनेत गर्नुपर्ने बेला इनफ इज इनफमा एउटा सुचनाको भरमा दशौं हजार युवाहरु सडकमा निक्लनुले न त युवाहरु राजनिती बुझ्दैनन् भन्ने देखियो न त अल्छी छन् सडकमा निक्लदैनन् भन्ने देखियो । दलहरुसंग एजेण्डा नमिलेर दलहरुको कार्यक्रममा चासो नदिएका मात्र हुन् भन्ने सन्देश सो अभियानले दिएको छ । मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था छ हरेक पाँच–पाँच वर्षमा हुने आवधिक चुनाव हरेक राजनितिक दलले आफ्नो पक्षमा पारि आफ्नो निति आफ्नो सरकारद्धारा कार्यान्वयन गरी मुलुकमा विकाश सुशासन जनतालाई सुविधा र सम्पन्नता दिने चाह राख्ने गर्दछन् । त्यसका लागि पछिल्लो पाँच वर्षमा थपिएका नयाँ मतदाता पच्चीस लाख मतदाता निर्णायक बन्न सक्दछन् । नेपाली कांग्रेस आगामी निर्वाचनमा नेपाल कम्यिुनिष्ट पार्टीसंग प्रतिष्पर्धा गर्दै छ ।

विश्व राजनीतिक परिवेशमा इतिहास बन्दै गएको कम्युनिष्टहरुको विचारधारा समयानुकुल नभएको कुरा अहिले युवाहरुले पक्कै बोध गरेको हुनुपर्छ । अर्कोतर्फ सरकारको अनियमितता मंहगी भ्रष्ट्राचारप्रति नेपाली युवाहरुको असन्तुष्टि त इनफ इज इनफ आन्दोलनमै देखिसकेको छ । वर्तमान संकटको समयमा मुलुक र युवाहरुलाई सैद्धान्तिक हिसाबले लोकतान्त्रिक र तुलनात्मक रुपमा जिम्मेवार खुला मास वेस्ट पार्टी नेपाली कांग्रेस उपयुक्त विकल्प बन्न सक्छ तर यसका लागि केही सर्तहरु कांग्रेसले चाल्नुपर्ने देखिन्छ ।

पहिलो सर्तका रुपमा नेपालको युवाहरुले केही समय अगाडि गरेको इनफ इज इनफको स्पष्ट सन्देश अबको राजनीति एजेण्डामा हुन्छ भन्ने कुरालाई स्विकार गर्नुपर्दछ । बीपी कोइरालाको एउटा सन्देश छ, हरेक आम साधारण नेपालीले देख्ने सपना स्वार्थ नै नेपाली कांग्रेसको स्वार्थ हो, दुहुना गाइ होस, खेतीका निम्ति सानो खेत होस्, बस्नका लागि घर होस्, छोराछोरी स्कुल जाउन्, औषधीमुलो गर्न समस्या नहोस् । सन्देश स्पष्ट छ जब जनताको स्वार्थ र पार्टीको स्वार्थ मिल्छ जनताले पार्टीलाई माया गर्छन् । नेताको सपना र जनताको सपना एउटै हुँदा जनताले नेतालाइ श्रद्दा गर्दछन् । जब युवाले देख्ने सपनालाई नेपाली कांग्रेसले सम्बोधन गर्न सक्छ तब युवाहरुले कांग्रेसलाई आफ्नो ठान्नेछन् । तीन करोड नेपाली मध्ये पाँच वर्षमा थपिएका करिव पच्चीस लाख मध्ये खाडीमा भएका युवाका बारे पश्चिमा देशमा पुगेका वा देशमा सानातिना व्यवसाय वा रोजगारी गरी बसेका वा बेरोजगार चाहे गाउँका हुन् वा शहरका नेपाली कांग्रेसको दस्तावेजमा नीति कार्यक्रममा आफ्ना सवालहरु, आफ्ना सपनाहरुप्रति प्रतिवद्धता र नेतृत्वमा देशमा सुशासन अनि विकसित नेपाल र समुन्नत नेपालीका लागि स्पष्ट कार्ययोजना देख्दा मात्र आफ्नो स्वार्थ र सपना नेपाली कांग्रेससँग मिलेको आफ्नो एजेण्डा कांग्रेसको एजेण्डा भएको ठान्दछन् त्यो नेपाली कांग्रेसको र सिंगो नेपालको जित हुनेछ ।

दोस्रो सर्त हो नेपाली कांग्रेसको विधानको अक्षरस कार्यान्वयन गर्नु । नेपाली कांग्रेसको विधान अनुसार हरेक वर्ष अनिवार्य रुपमा क्रियाशील सदस्यता फाराम खुलाउनु पर्दछ तर हामीले महाधिवेशन हुने वर्षमा मात्रै आवेदन फाराम खोल्दै आएका छौं । अधिकांश नेताहरु नेतृत्व लिने दौडमा नै व्यस्त हुँदा क्रियाशील सदस्यतालाई स्थानियस्तरको नेताले पनि क्षेत्रीय प्रतिनिधि जाने साधनको रुपमा मात्र प्रयोग गर्दै आएको पाइन्छ । नेपाली कांग्रेसको वैचारिक र सांगठनिक मुलप्रवाह र आधार क्रियाशिल सदस्यतालाई यस्तो हलुका तरिकाले व्याख्या गर्नु पार्टीलाई पार्टी होइन एउटा गिरोहमा रुपान्तरण गर्नु जस्तै हो । यस गल्तीलाई तत्काल सुधार गर्न विधानमा व्यवस्था भए बमोजिम महाधिवेशन हुने वर्ष बाहेक हरेक वर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन फाराम खोलि वितरण गर्नु आवश्यक देखिन्छ ।

कांग्रेसको उद्धेश्य र आर्दश कांग्रेसका देश र जनताप्रतिको धारणा तथा कार्यक्रमहरु प्रत्यक्ष वा विधुतीय र सामाजिक संजाल मार्फत पछिल्ला पाँच वर्षमा थपिएका करिव पच्चीस लाख युवामध्ये कम्तिमा पन्ध्र लाख आम युवा र मतदाताको बीचमा लगि लाखौंलाख लोकतन्त्रप्रेमी आफ्नो नीति कार्यक्रममा सहमत र प्रतिवद्ध व्यक्तिहरुलाई नेपाली कांग्रेसको क्रियाशिल सदस्यता दिन कत्ति पनि हिच्किच्याउन हुँदैन।

क्षेत्री नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति हुन्

सम्बन्धित खवर