नोबेल अस्पतालका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

नोबेल अस्पतालका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा
विराटनगर-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएको तथा स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालले विभेद गरेको भन्दै कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् ।

नियमानुसार पाइने पारिश्रमिक लामो समयदेखि नपाएको र कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्तासमेत उपलब्ध नगराएकाले राजीनामा दिन बाध्य भएको नाम नबताउने शर्तमा एक स्वास्थ्यकर्मीले बताइन् ।

‘यस्तो विषम् परिस्थितिमा समेत काम गरेबापत प्रोत्साहन पाउनु त कता हो कता तलबसमेत समयमा पाएका छैनौँ,’ उनले भनिन्, ‘यस्तो अप्ठ्यारो परिस्थितिमा जोखिम मोलेर काम गरिरहँदा पनि हाम्रो बारेमा अस्पताल प्रशासनले खासै ध्यान दिएन, त्यसैले राजीनामा दिन बाध्य भयौँ ।’

सो विषयमा नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएको स्वीकार गरे । ‘आज उहाँहरूले सामूहिक राजीनामा दिनु भएको छ,’ उनले भने, ‘तर, उक्त राजीनामा अस्पताल प्रशासनले स्वीकृत गरेको छैन । यो विषयमा भोलि छलफल हुनेछ ।’

उनका अनुसार स्वास्थ्यकर्मीहरूले ५ हजार रुपैयाँ पारिश्रमिक थप गर्नुपर्ने माग राख्दै आएका थिए । तर, व्यवस्थापनले दिन नसक्ने अडान राख्दै आएको श्रोतले जनाएको छ ।

सम्बन्धित खवर