आज ऋषि पञ्चमी पर्व मनाइदै

आज ऋषि पञ्चमी पर्व मनाइदै

पाेखरा : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ ।

ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न आह्वान गरिएको छ । यसैगरी सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज(आइतबार)देखि शुरु भएको छ ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास गरिन्छ । सोही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाई पर्वको थालनी गर्दछन् ।

सम्बन्धित खवर