भोलिदेखि पथरी शनिश्चरे शिल गरिने

भोलिदेखि पथरी शनिश्चरे शिल गरिने

पथरी, मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकाले भोलि बिहान १० बजेदेखि नगर क्षेत्र शिल गरिने भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईले अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै भोलि बिहान १० बजेदेखि अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण पसल, ब्यवसाय, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिने बताउनु भयो । नगरको सो आव्हानलाई पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन नगरवासीमा आग्रह गर्नुभयो ।

अत्यावश्यक खाद्यान्न, सब्जी, फलफुल, दुधजन्य पदार्थ विहान ६ देखि विहान ९ बजेसम्म मात्र विना भिडभाड सञ्चालन गरिसकेपछि भोलि १० बजेबाट नगरलाइ शिल गरिने छ । सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा आज कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना भाइरस फैलिएको हुनसक्ने बुझेर शिल गर्ने अवस्था आइपरेको हो ।

भदौ २ गते पथरी शनिश्चरेको आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट आज पोजेटिभ आएपछि ती युवा आफुसँग गएका २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरिने छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा अन्य २ युवाको रिपोर्ट भनें नेगेटिभ आएको थियो ।

फ्याक्ट्री पुग्नु अघि नै ती युवा कोरोना संक्रमित भएको हुनसक्ने बुझिएको छ । उनलाई कोभिड अस्पताल गोठगाउँ पठाइएको छ भनें अन्य २ जनालाई नगरको क्वारेन्टिनमा राखिएको छ ।

सम्बन्धित खवर