लहान, अस्पतालको चरम लारपरवाहीले महिलाको मृत्यु भएको घटनाको रिपोर्टिंग गर्न गएका दुईजना पत्रकारमाथि प्रहरीले लाठी चार्ज गरेका छन् । थाहाखबरका जनकपुर समाचारदाता समेत रहेका टुडेखोजका सन्तोष यादव र टुडेखोजका समाचारदाता शिवेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेका हुन् ।
नवजीवन अस्पतालको लापरवाहीले बिहीबार साँझ ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बर्षीया रुकमणि सदाको शव प्रहरीले जवरजस्ती उठाउन खोजिरहेको थियो । सोही समयमा समाचार संकलनका लागि गएका पत्रकार यादव र रोहितामाथि कुटपिट भएको हो ।
मृतक परिवारले दोषीमाथि कारबाही, क्षतिपुर्ति सहित चार सुत्रीय माग राख्दै शव उठाउन अवरोध गरेको थियो । प्रहरीले लाठीचार्ज गर्दै शव उठाउन खोजेपछि त्यसै क्रममा समाचार संकलनमा रहेको बेला प्रहरीले आफुमाथि आक्रमण गरेको र आफु पत्रकार भन्दा पनि लाठीचार्ज गरेको दुखेसो पोखे । लाठीचार्जबाट घाइते दुबै पत्रकार उपचारपछि फर्केका छन् ।