पत्रकार, जनप्रतिनिधि सहित ७५ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन

पत्रकार, जनप्रतिनिधि सहित ७५ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन

पथरी, मोरङको पथरी शनिश्चरे नगरका जनप्रतिनिधि, पत्रकार, सामुदायिक वनका पदाधिकारी तथा समाजसेवीहरुको कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं सहित वडाध्यक्ष, कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि सहित एक कार्यक्रममा सहभागिहरुको पथरी नगर अस्पतालका स्वास्थ्यकर्मी मार्फत स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ ।

गत साउन १७ गते जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरे सहितको टोली पथरी शनिश्चरे र लेटाङमा बैज्ञानिक वन सम्वन्धी कार्यक्रममा सहभागि भएको थियो । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, वैज्ञानिक वन व्यवस्थापनको अध्ययन कार्यदलले पथरी शनिश्चरेको हरियाली सामुदायिक वनमा अध्ययन, अवलोकन गरेका थिए । त्यसपछि वनको सभाहलमा समितिका संयोजक सांसद पूर्णकुमारी सुवेदीको अध्यक्षताको कार्यक्रममा सुझाव संकलन गरेको थियो । समितिका सदस्य सांसदहरु धनश्याम भण्डारी, शान्ता चौधरी, चन्द्राकान्त चौधरी, राजवहादुर बुढाथोकी र शान्तिमाया तामाङ पाख्रिन लगायत उपस्थित भएका थिए ।

टोलीका सदस्य जिल्ला वन कार्यालयका प्रमुख घिमिरेलाई साउन २१ गते कोरोना पोजेटिभ देखिएको छ । पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको सो कार्यक्रममा घिमिरेसँगै सहभागि भएका जनप्रतिनिधि, वन समितिका पदाधिकारी, समाजसेवी, पत्रकारहरुको कन्ट्याक ट्रेसिङका आधारमा ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो । स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

पथरी बहुमुखी क्याम्पसमा नगरले खडा गरेको क्वारेन्टिनमा बसेकामध्ये २० जनाको पनि आजै स्वाब संकलन गरि पठाइएको छ ।

नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितका केही जनप्रतिनिधि र कर्मचारीको यस अघि गरेको परीक्षणमा कोरोना नेगेटिभ रहेको थियो ।

साउन २३ गते रातीदेखि दोस्रो पटक लकडाउन सुरु भएको पथरी शनिश्चरेमा यसअघि ५ जनामा कोरोना देखिएपनि सवैजना निको भएर घर फर्किसकेको आचार्यले बताए ।

सम्बन्धित खवर