राजेन्द्र महतो, लहान
सिरहाको लहान स्थित ग्लोबल आइएमई बैङ्ककमा कार्यरत कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ । कर्मचारीको पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्कको लहान शाखा सिल गरेको हो।
ती कर्मचारीलाई केही दिन अगाडि ज्वरो आएपछि उनी आफैं जनकपुर प्रादेशिक अस्पतालमा परीक्षणका लागि गएका थिए । उनको रिपोर्ट हिजो पोजिटिभ आएपछि ती कर्मचारीलाई सोही अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताइएको छ ।
कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शनिवार ४ः३० बजे नै बैङ्कको लहान शाखा सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक शरत थापा क्षेत्रीले बताएका छन् । सँगै कार्यरत कर्मचारीलाई संक्रमण देखिएपछि बैङ्कमा कार्यरत अन्य २२ जना कर्मचारी सबैलाई एकै स्थानमा क्वारेन्टाइनमा राखिएको छ।