भीमराज अधिकारी, पथरी
‘‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’’ नारा सुन्दै आत्मीय लाग्ने बैंकले काम भने अच्चमको गर्ने गरेको छ । एनआइसी एसिया बैंक मोरङको पथरी शाखाले एउटा कम्पनीको नाममा रहेको चेक अर्कै कम्पनीको खातामा जम्मा गरिदिएपछि खैलाबैला मच्चिएको छ ।
सानो त्रुटी भएमा अथवा दस्तखतमा शंका लागेमा, दस्तखतमा सामान्य पनि गल्ती भयो भने चेक भुक्तान हुदैन । अझ एसीपेइ चेकमा त अरुको खातामा रकम जम्मा हुने कुरै भएन । भनिन्छ एसीपेइ चेक छ भने बाटोमा हरायो अथवा भेटियो भनेपनि कसैगरी अरुका खातामा जम्मा हुनै सक्दैन तर एनआइसीको पथरी शाखाले त त्यो भ्रम नै तोडिदियो । त्यो पनि आफैले एउटा कम्पनीको एसीपेइ चेकको रकम अर्कै कम्पनीको खातामा जम्मा गरेर ।
पथरी शनिश्चरेको काविल कन्ट्रक्सन प्रा.लि.का नाममा रहेको ३७ लाख ७३ हजार ६१३ रुपैँयाको चेक अर्कै कम्पनीको खातामा जम्मा भएको हो । पथरी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयबाट बजेट परेको थियो । सो कामको जिम्मा काविल कन्ट्रकसनले लिएको थियो । काम सकेपछि पथरी शनिश्चरे नगरपालिकाले भुक्तानी गरेको चेक काविल कन्ट्रकसनका हिस्सेदार रविन कुमार राईले आफ्नो एकल दस्तखतमा चल्ने पारुहाङ ग्रिल उद्योगको नामा जम्मा गरे । बैंकका कर्मचारीसंगको राम्रो सम्बन्धका कारण हुनुपर्छ रविनले आफ्नो एकल दस्तखतमा सञ्चालनमा रहेको प्रा.लि.मा रकम जम्मा गर्न सफल भए । कर्मचारीले भूमिका नखेल्ने हो भने अर्को फर्ममा रकम जम्मा हुने सम्भावना नै हुदैन । बैंकको यस्तो लापर्वाहीका कारण कस्को पैसा कतिखेर कस्को खातामा पुग्छ टुङ्गो हुदैन् ।
अझ रमाइलो कुरो चाँहि के छ भने काविलका मालिक भूवन थापाको एनआइसी एसिया बैंकमा खाता नै छैन् । बैंकले खाता खोल्न भनेपछि आवश्यक कागजात हिजो छाडेको थापाले बताए । यस विषयमा बुझ्न शाखा प्रमुख बिजय विष्टलाई सम्पर्क गर्दा फोन उठेन ।
यता बैंकका प्रदेश १ प्रमुख दिपक थापाले भने अन्जानमा गल्ती भएको हुनसक्ने भन्दै बचाउ गरेका छन् । ‘काम गर्दा गल्ती हुन्छ, अन्जानमा भएको हो की नियतबस गरिएको भनेर अनुसन्धान गर्दै छौँ । नियतबस यस्तो काम गरिएको पाइए कार्वाही हुन्छ ।’ थापाले भने ‘चेक क्लीयरिङको काम शाखाले मात्रै नभएर केन्द्रिय कार्यालयले समेत हेर्छ । एउटाले इन्ट्री गरेपछि अर्कोले भेरिफाइ गर्छ तर यो विषय गल्ती भएकै हो हामीले सम्बन्धित व्यक्तिलाई रकम फिर्ता गर्न लागाइसकेका छौँ ।’
थापाका अनुसार क्लीयरिङको काम शाखाले पठाउने र केन्द्रले भेरिफाइ गर्ने हो यसरी हेर्दा एनआसी बैंक कति गैर जिम्मेवार काम गर्छ भन्ने प्रष्ट छ । कस्को खातामा रकम जम्मा गर्ने ? कस्को नामको चेक हो ? भन्ने समेत ख्याल नगरी भेरिफाइ गर्ने कस्ता कर्मचारी छन् एनआइसीमा भन्ने प्रष्ट बुझिन्छ । यसरी एउटाको पैसा अरुलाई भुक्तानी गर्नु गैर कानुनी हुन्छ तर राष्ट्र बैंकबाट ‘क’ वर्गको अुनमती पाएको बैंकले नै गैर कानुनी काम गर्दा नियामक निकाय नाजवाफ छ ।
यो पनि हेर्नुहोस्..