पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बाढीले क्षति पुर्याएका स्थलहरुमा तटवन्धका लागि सम्वन्धित निकायमा थप पहल गरिने भएको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले कोशी तथा बक्राहा नदी व्यवस्थापनको कार्यालयमा तटवन्धका थप कार्यक्रम तत्काल सञ्चालन गर्न माग गर्ने निर्णय गरेको हो ।
कोशी तथा बक्राहा नदी व्यवस्थापन कार्यालयले वडा नम्वर ९ र १० मा पर्ने डाँस खोलामा स्पाइलिङ र च्यानलाइज सुरु गरेको तथा ६ र ८ नम्वरमा पर्ने डाँस खोला एवम् २, ३ र ५ मा पर्ने बक्राहा खोलातर्फ पनि तात्कालिन रुपमा स्पाइलिङ र च्यानलाइज सुरु गरिहाल्न अनुरोध गर्ने निर्णय भएको छ । मोरङ्गी खोला, पथरी खोला, सुनझोडा खोला, लाटी खोला, गोही होलीको अवस्थालाई पनि ध्यानमा राख्नु पर्ने उल्लेख गरिएको छ ।
विपद व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गरी सुरक्षा निकायलाई प्रदान गर्न नगर कार्यापालिकालाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।