बाह्रदशीमा समुदायमा कोरोना फैलिएपछि कन्ट्याक ट्रेसिङलाई तिब्रता

बाह्रदशीमा समुदायमा कोरोना फैलिएपछि कन्ट्याक ट्रेसिङलाई तिब्रता

स्थानीय समुदायमा कोरोना संक्रमण फैलिएपछि झापाको बाह्रदशी गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङलाई तिब्रता दिइएको छ ।

गाउँपालिकाको संभावित संक्रमित क्षेत्रलाई सिल गरी मंगलबारदेखि कन्ट्याक्ट ट्रेसिङ थालिएको हो । मंगलबार संक्रमितहरुको परिवार र उनीहरुको सम्पर्कमा आएका ४१ जनाको स्वाब संकलन गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलिसकेकाले अत्यन्त सजग हुनु पर्ने अबस्था आएको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बाह्रदशीका संक्रमितहरुको ‘डिटेल हिष्ट्री’ खोजिरहेको जानकारी दिए । ‘ त्यस जानकारीका आधारमा संक्रमितको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्छौ’ उनले भने ।

समुदायमा संक्रमण देखा परेपछि बाह्रदशी गाउँपालिकाले सूचना जारी गरी सोमबार राति १२ बजेदेखि बाह्रदशी गाउँपालिकाको वडा नं १ ,२ र ३ अनिश्चित समयका लागि सिल गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि संक्रमित क्षेत्रभित्रका तीनवटा वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । जिल्लामा पहिलो पटक बाह्रदशीमा सुरक्षाकर्मीबाहेक समुदायका ब्यक्तिमा कोरोना सरेको पाइएको हो । बाह्रदशी गाउँपालिकाका दुईजनामा हिजो संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् ।

बाह्रदशी २ मा निजी क्लिनिक संचालन गरेका स्वास्थ्यकर्मी र वडा नं ३ का नेकपाका एक कार्यकर्तालाई संक्रमण देखिएको हो । बाह्रदशीको पशुपति माविमा क्वारेन्टाइन रहेको छ । त्यस विद्यालयमा जाँदा नै आफूलाई कोरोना सरेको हुनसक्ने कोभिड हस्पिटल धरानमा रहेका नेकपा कार्यकर्ताले बताए । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई आफै बुझेर परीक्षणका लागि जान आग्रह गरेको जानकारी दिए । त्यस्तै राजगढमा क्लिनिक संचालन गरेका अर्का संक्रमितले आफ्नो औषधि पसलमा आएका विरामीहरुबाट संक्रमण सरेको हुनसक्ने आशंका गरेका छन् । चार दिन अघि क्वारेन्टाइनमा बसेका ब्यक्ति , जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये समुदायका ती दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कहाँबाट र कसरी कोरोना सर्यो भन्ने थाहा हुन नसकेको अध्यक्ष राजवंशीले बताए । योसँगै बाह्रदशीमा कोरोना संक्रमितको सँख्या १४ पुगेको छ ।

सम्बन्धित खवर